‘धूम्रपानले फोक्सो मात्र हैन मुटु र मस्तिष्कलाई समेत व्यापक नोक्सान’

‘तमाखुले रगतको धमनीमा अवरोध उत्पन्न हुँदा मुटु रोग र हर्ट एटैकको सम्भावना मात्र बढाउँदैन यसले मुटुको चाल समेत अनियमित हुन्छ जसले एक्कासि मुटु ले काम गर्न छोडनु (कार्डिएक एरेष्ट ) ले हुने मृत्युको जोखिम समेत बढ्ने गरेको छ : डा.ओममुर्ति अनिल’


काठमाडौं – धुमपान वा सुर्ती सेवन भन्ना साथ धेरै जसो फोक्सो वा मुख को लागि हानिकारक ठान्ने गरिए पनि क्यान्सरको कारण बन्ने यो अम्मलले पुरै शरीर सहित मुटु, रक्त नली र मस्तिष्क लाई समेत धेरै हानी पुर्याउँछ ।

तमाखु वाट निर्मित उत्पादन लाई चपाउनाले वा धुमपान को माध्यमले विषाक्त रसायन शरीरमा प्रवेश गरेर नकारात्मक प्रभाव देखाउने गरेको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को अनुसार चुरोट को धुवाँ मा ४ हजार भन्दा बढी रसायनहरू पहिचान भएका छन् ।

तमाखु को विभिन्न प्रकार को उत्पादन र धुमपान को थुप्रै प्रकारको क्यान्सर सँग सम्बन्ध छ । यति मात्र नभइ धुवाँ तानेर वा चपाएर जुनसुकै रूपमा तमाखु को उपयोग गरे पनि यसले मुटु , रगतको धमनीहरू लाई समेत नोक्सान पुर्याउँछ ।

मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल को अनुसार पछिल्लो समय चपाएर वा धुवाँ तानेर अर्थात् कुनै पनि रूपमा तमाखु को उपयोग गर्ने कारण धेरै जसो व्यक्ति क्यान्सर को दाँजोमा मुटु र रक्त वाहिनी सँग सम्बन्धित (कार्डियो भास्कुलर ) रोग ले मर्ने गरेका छन् ।

नेपाल मा नसर्ने रोग सम्बन्धी जोखिम तत्व को सर्वेक्षण (स्टेप्स सर्भे) २०१९ को अनुसार मुलुक मा २८.९ प्रतिशत वयस्क ले सुर्ती जन्य पदार्थ उपयोग गर्छन् । यस्तै नेपालमा वर्षेनी २७ हजार भन्दा बढी मानिसहरूको मृत्यु सुर्ती जन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।

डब्लुएचओ को अनुसार सुर्ती जन्य पदार्थको प्रयोग मुटु र स्वास प्रश्वास सम्बन्धी रोगहरू, २० भन्दा बढी प्रकार को क्यान्सर र अन्य धेरै कमजोर स्वास्थ्य अवस्था उत्पन्न गर्ने जोखिमको कारक हो । तमाखुले आफ्नो आधा प्रयोगकर्ता हरूलाई मृत्यु उपहार दिने गरेको जनाउँदै डब्लुएचओले धुमपानले वर्षेनी ८० लाख भन्दा बढी मानिस को ज्यान लिने गरेको उल्लेख गरेको छ । ती मध्ये ७० लाख भन्दा बढी को मृत्यु प्रत्यक्ष सुर्ती जन्य पदार्थको प्रयोगको कारणले हुने गर्छ भने १२ लाख भन्दा बढी धुमपान नगर्ने हरू अर्काले गरेको धुमपान वाट निस्किएको धुवाँ को प्रभावमा परेर मृत्यु वरण गर्ने गरेका छन् ।

कुनै पनि माध्यमले लिइएको तमाखु शरीरमा प्रवेश गरे पछि थुप्रै प्रकारको रसायन हरू छोडने गरेको छ । यस्ता थुप्रै नकारात्मक प्रभाव पार्ने रसायन हरू मध्ये निकोटिन र कार्बन मोनोअक्साइड मुख्य रूपमा रक्त वाहिनीहरू लाई क्षति पुर्याउँछ ।

‘सुर्तीमा पाइने निकोटिन ले रगतको धमनीहरू लाई साँघुरो पार्छ भने कार्बन मोनो अक्साइडले हाम्रो धमनी को पर्खाल लाई नोक्सान पुर्याउँछ’ डा.ओम मुर्ति भन्छन्–‘ धुमपान वा तमाखु सेवनले शरीरमा ट्र्राइग्लिसराइडको स्तर मा बृद्घि गराएर हर्ट एटेक र मधुमेहको जोखिम धेरै गुणा बढाउँछ । यसले रगत बाक्लो गर्ने थेग्लो बनाउने र जम्न समेत सघाउँछ ।’

धुमपान गर्नाले शरीरमा रगत को थेग्लो बनाउने प्रोटिन समेत बढी सक्रिय हुन्छ । जसले गर्दा प्लेटेलेटस एक ठाउँ मा जम्मा हुन थाल्छ र यसकै परिणाम स्वरूप रगतको थेग्लो को रूपमा देखिन्छ । एक जना सामान्य स्वस्थ व्यक्ति को दाँजोमा धुमपान गर्ने व्यक्ति एक दशक अगावै नै हर्ट एटैकको शिकार हुन सक्छन् । अझ धुमपान गर्ने पुरुषमा त यो जोखिम दोब्बर हुने गरेको चिकित्सा तथ्य पत्र हरूमा उल्लेख छ ।

तमाखुले रगतको धमनीमा अवरोध उत्पन्न हुँदा मुटु रोग र हर्ट एटैकको सम्भावना मात्र बढाउँदैन यसले मुटुको चाल समेत अनियमित हुन्छ जसले एक्कासि मुटु ले काम गर्न छोड्नू (कार्डिएक एरेष्ट ) ले हुने मृत्युको जोखिम समेत बढ्ने गरेको डा.ओममुर्ति जनाउँछन् ।

विज्ञहरूको अनुसार धुमपानले शरीरमा हानिकारक कोलेस्ट्रोल एलडीएल मा बृद्घि हुन्छ भने शरीर लाई फायदा गर्ने एचडीएल कोलेस्ट्रोल मा कमी समेत आउँछ ।

धुमपान ले गर्दा रगत को थेग्लो बन्ने समस्या को कारण स्ट्रोक अर्थात् मस्तिस्काघात को जोखिम समेत बढ्ने गरेको छ । धुमपान छोडेको एक वर्ष भित्रै मुटु र रक्त वाहिनी सम्बन्धी रोगको जोखिम कम हुने भएकोले जुन समयमा पनि यो अम्मल लाई त्याग गरे शरीरलाई फायदा नै हुने डा.ओममुर्ति बताउँछन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!