चार दशक यता नेपालमा दृष्टि विहिनतामा तिन गुणा कमी


काठमाडौं– नेपालको आँखा स्वास्थ्य सेवा गैर सरकारी संस्थाद्वारा सञ्चालित नमुना कार्यक्रम रहेको जनाउँदै विज्ञहरूले यही कार्यक्रमको सहयोगले पछिल्लो चार दशकमा मुलुकमा दृष्टि विहिनतामा तिन गुणा कमी आएको बताएका छन् ।

नेपाल नेत्र ज्योति संघले आइतवार आयोजित गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिमा पत्रकार संवेदनशीलता कार्यक्रममा नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले उक्त कुरा बताएका हुन ।

सन १९८१ मा नेपालमा ०.८४ प्रतिशत दृष्टि विहीन रहेकोमा हाल तिन गुणा कम अर्थात् ०.२८ प्रतिशत दृष्टि विहीन रहेको जनाउँदै डा.मिश्रले भने–‘विश्व मै उल्लेख्य सकारात्मक मानिने यो परिवर्तन मुलुकमा गैर सरकारी संस्थाहरू द्वारा सञ्चालित आँखा कार्यक्रमले ल्याएकोहो ।’

यति हुँदा हुँदै पनि अझै नेपालमा ४६ हजार व्यक्ति दुवै आँखाले दृष्टि विहीन भएर बसेका छन् भने पछिल्लो चार दशक देखी मुलुकमा आँखा स्वास्थ्य को क्षेत्रमा मोतीबिन्दु प्रमुख समस्याको रूप मै देखि राखिएको छ ।

‘हाल नेपालीको जीवन काल बढ्दै गएको छ, दिन दिनै आँखाको समस्या बढ्छ, विश्वको ५० प्रतिशत जनता मायोपिक हुने भनिएको छ , हामी समेत अछुतो रहने छैनौं’’ डा.मिश्रले आँखाको स्याहारमा लगानी बढाउँदै लग्नु पर्ने आवश्यकता रहेको समेत बताए ।

देश भरमा २७ वटा आँखा अस्पताल र १ सय ५० भन्दा बढी उपचार केन्द्र नेपाल नेत्र ज्योति संघ को मात्र रहेको संघका केन्द्रीय अध्यक्ष प्रा.डा.चेतराज पन्त ले बताए । गत वर्ष भारत, युरोप, बर्मा, बंगलादेश, आदि गरी करिब २ लाख ७२ हजार शल्यक्रिया र ४० लाखको आँखा उपचार गरिएको जनाउँदै डा.पन्तले मोतीबिन्दुको शल्यक्रिया लागत प्रभावी रहेको बताउँछन् ।

आगामी दिनमा आँखा स्वास्थ्य प्रति जागरूकता फैलाउन र मुलुकमा आँखा स्वास्थ्य को क्षेत्रमा भएका क्षमता अनुसारको दृष्टिमा हुन सक्ने सुधार को सुविधा आम व्यक्तिले लिन स्वास्थ्य पत्रकार र संघ दुवै एक जुट भएर काम गर्न आग्रह नेत्र ज्योति संघका केन्द्रीय महासचिव, भरत बहादुर चन्द ले गरे ।

नेत्र ज्योति संघ द्वारा आयोजित राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिमा पत्रकार संवेदनशीलता कार्यक्रममा करिब ६० जना भन्दा बढी पत्रकार सहभागी थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!