मधेश प्रदेशमा पहिलो पटक ‘प्लेटलेट फेरेसिस ’ मेसिन द्वारा रक्त संचार सेवा प्रदान

अब रगतको जुन तत्त्वको कमी छ त्यो मात्रै बिरामीमा चढाउन सकिने


जनकपुर – मधेश प्रदेशमा बिरामीहरूलाई विभिन्न रोग, समस्या अन्तर्गत रगतको एउटा खास तत्त्वको मात्रै आवश्यकता भए पनि सम्पूर्ण रगत नै चढाउनु पर्ने बाध्यताको अन्त भएको छ ।

मधेशमा पहिलो पटक प्रदेश जनस्वास्थ्य प्रयोगशाला अन्तर्गत सञ्चालित मधेश रक्त सञ्चार सेवा, मुजेलियामा ‘प्लेटलेट फेरेसिस’ मेसिन जडान गरी सेवा शुरु भए पछि शरीरमा आवश्यकता बाहेकको रगतको तत्त्व अर्थात सम्पूर्ण रगत ( होल ब्लड ) चढाउनु पर्ने अवस्थाको अन्त भएको हो ।

प्लेटेलेटस फेरेसिस मेसिनको माध्यमले दाताको रगत वाट एक पिन्ट प्लेटेलेट निकालेर रगतका वाकी तत्त्व पुनः दाता कै शरीर सफलतापूर्वक फिर्ता गरेर यो सेवा शुरु गरिएको हो ।

पछिल्लो समय डेँगुको संक्रमण उच्च अवस्थामा रहँदा मधेश प्रदेशका बिरामीहरूको शरीरमा रगतका तत्त्व प्लेटेलेटस मात्र चढाउनु पर्ने भए पनि सम्पूर्ण रगत को पोका नै चढाउनु पर्ने वाध्यता थियो । यसले गर्दा शरीरमा प्रतिकुल प्रभाव समेत पर्ने गरेको औँल्याउदै प्रदेश जनस्वास्थ्य प्रयोगशाला का निर्देशक डा.श्रवणकुमार मिश्र भन्छन्–‘ डेँगुको बिरामी मात्र नभएर अन्य रोगहरूमा समेत शरीरलाई रगतको जुन तत्त्व आवश्यक छ त्यो मात्र नदिएर नचाहिने तत्त्व सहितको पूर्ण रगत नै चढाउनु पर्ने वाध्यता हुँदा प्रतिकुल असर पर्ने गरेको थियो । तर अव रगतका तत्त्वहरू मध्ये बिरामीलाई जे चाहिन्छ त्यही तत्त्वको ट्रान्सफ्युजन गर्न सकिन्छ ।’

हाल मधेशमा आधुनिक रक्त सञ्चार सेवाका विभिन्न आयामहरू जस्तै रक्तदान, रगतबाट सर्ने रोग हरूको स्क्रिनिङ्ग, रगतबाट कम्पोनेन्टहरू जस्तै रातो रक्त कोषिका, प्लाज्मा, प्लेटलेट, बफीकोट, क्रायो प्रेसिपिटेट (फ्याक्टर–८), लगायत रगतका विभिन्न कम्पोनेन्ट छुट्याउने प्रविधि सहित ४ हजार ५ सय रगतका पोकाहरू भण्डारण क्षमता भएको रक्त सञ्चार सेवा उपलब्ध छ ।

डा.मिश्रका अनुसार रगतको विभिन्न तत्त्व हरू (कम्पोनेन्ट), छुट्याउनुले मुख्य रुपमा दुई वटा फायदा हुन्छ । एउटा जुन बिरामी लाई रगतमा भएको जे कम्पोनेन्टको आवश्यकता (कमी) छ त्यो मात्र दिने, त्यसले गर्दा सही उपचार हुन्छ र रगतमा अन्य कम्पोनेन्टको कारणले हुने प्रतिकुल प्रभावबाट बाच्न सकिन्छ । यस्तै अर्को फायदा अन्तर्गत एउटै रगतको पोकाबाट चार पोका रगत समेत तयार हुन्छ । चार जना व्यक्तिलाई रगतको जुन कम्पोनेन्ट चाहिएको छ सोही अनुसार दिएको खण्डमा थोरै मात्रामा रक्तदान गर्दा पनि रगतको अभाव नहुने अवस्था हुन्छ ।

स्मरण रहोस् क्यान्सर र डेंगु को बिरामी लाई प्लेटलेट, आगोले पोलेको र शरीरमा तरल पदार्थका कमी भएको अवस्थामा लाई प्लाज्मा र रक्त अल्पता ( एनिमिया ) भएकोलाई रातो रक्तकोष मात्र चाहिन्छ । हिमोफिलियाको विरामीलाइ फ्याक्टर– ८ दिइन्छ । तर केहि समय अघि सम्म ‘प्लेटलेट फेरेसिस’ मेसिन नहुदाँ शरीरमा जुन सुकै रगत तत्त्वको कमी भए पनि रगतको पोका नै चढाउनु पर्ने बाध्यता थियो ।

मधेश रक्त सञ्चार सेवामा एफेरेयिस को समेत सुविधा उपलब्ध छ । एफेरेयिस प्रविधि अन्तर्गत रक्तदाता वाट रगतको एउटा स्पेसिफिक (खास) तत्त्व जस्तै प्लेटलेट, फ्लाज्मा, सेतो रक्त कोष वा रातो रक्तकोष अर्थात जुन तत्त्व को आवश्यकता छ सोही तत्त्व मात्र निकाल्ने र बिरामीलाई दिन सकिने डा.मिश्र बताउँछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!