अति नै लाभ दायक ‘सक्खर’ अर्थात् ‘गुड’


आयुर्वेदमा सक्खर अर्थात् ‘गुड’ लाई परम औषधि र अमृत तुल्य मानिएको छ । वैदिक कालिन इतिहासमा उखुको खेती र विभिन्न अवसरमा विभिन्न प्रकार को गुडको उपयोग बारे समेत चर्चा गरिएको छ । उखुको रसमा विना कुनै रसायन वा अतिरिक्त सामाग्री उपयोग गरेर पकाई बनाइएको गुलियो खाद्य बस्तु सक्खर लाई गुड पनि भनिन्छ ।

इशा पूर्व सातौं शताब्दीमा लेखिएको आयुर्वेदको ग्रन्थ चरक संहिता को ‘इक्षुवर्गः’ अध्यायमा उखु वाट गुड बनाउने विस्तृत जानकारी दिइएको छ । सँगै भनिएको छ गुड वान्ता, पखाला, लाई नष्ट गर्छ र शरीरमा जम्मा भएको ‘कफ’ लाई बाहिर निकाल्छ ।

कौटिल्य को अर्थ शास्त्र (३५० इसा पूर्व) मा गुड लगायत पाँच प्रकारको सक्खर को वर्णन गरिएको छ । विश्व भरीमा सक्खर बनाउने यो भन्दा अर्को कुनै प्राचीन विवरण पाइँदैन ।

सुश्रुत संहितामा गुडलाई वात, पित्त नाशक, रक्त शोधक आदि गुण को वर्णन गरिएको छ । हरित संहितामा समेत गुड क्षय, खोकी, क्षीणता तथा रगतको कमी आदि रोगमा हितकारी बताइएको छ ।

गुड मुख्यतः उखुको रसले बनाइन्छ । यो उखु बाहेक खजूरले पनि बनाइन्छ ।यसलाई भने ताल गुड भनिन्छ। गुड लौह तत्त्वको एक प्रमुख स्रोत हो । रक्त अल्पताले ग्रस्तहरूलाई चिनीको स्थानमा गुडको उपयोग गर्ने सल्लाह दिइन्छ । गुड चिनी भन्दा बढी फायदा कारी र पौष्टिक मानिन्छ । चिनीको विपरीत यसमा बढी खनिज लवण हुन्छन् ।

आयुर्वेदको अनुसार गुड मूत्र शोधक तथा धातुवर्धक समेत हुन्छ । यसले पाचन शक्ति बढाइनुको साथै भोजनलाई सुपाच्य बनाउँछ । केही मात्रामा पुरानो गुड खानाले रगत शुद्ध हुनुको साथै गठिया रोगमा समेत आराम मिल्छ ।

रक्त विकार भएका व्यक्तिलाई चिनीको ठाउँ मा गुडको प्रयोग अत्यन्त फाइदा कारी हुन्छ । खाना खाए पछि २५ ग्राम सक्खर खाए पछि उदर वायु, उदर विकार निको हुन्छ , शरीरमा यौवन रहि रहन्छ ।

शारीरिक श्रम गर्ने व्यक्ति ले गुडको सेवन गरेर शरीरमा भएको टुट–फुटलाई निको गर्छन् र थकाइ हटाउँछ । मुटुको दुर्बलतामा समेत गुडको उपयोग फाइदा कारी मानिन्छ । चिसो याममा गुड ले बनाइएको कालो तिलको चाकु खानाले रुघाखोकी, दम, ब्रोकाईटिस आदि निको हुन्छ ।भोजनमा गुडको नियमित उपयोग ले शरीर लाई स्फूर्ति र शक्ति दिनुको साथै शरीरको पुरानो तन्तु लाई परिवर्तन समेत गर्दछ ।

भारतको उत्तर प्रदेश स्थित काउन्सिल अफ सुगर केन रिसर्च को अनुसार गुडमा ती सबै पोषक तत्व पाइन्छ जुन शरीर चुस्त दुरुस्त राख्न आवश्यक छ । प्रोटिन शरीरको टुटफुट भएका तन्तुलाई मर्मत गर्छ र बोसो शरीर लाई ऊर्जा प्रदान गर्छ । स्वास्थ्यका लागि आवश्यक क्याल्सियम, आईरन तथा भिटामिन ‘बी’ समेत गुडमा विद्यमान हुन्छ । यसैले गुडको गणना प्रमुख स्वास्थ्य वर्धक पदार्थको रूपमा गरिएको काउन्सिल ले जनाएको छ ।

काउन्सिल कै अनुसार अनुसार ठोस गुडमा ६०–८५ प्रतिशत, ग्लुकोज ५–१५ प्रतिशत, प्रोटिन ०.४ प्रतिशत, बोसो ०.१ प्रतिशत, क्याल्सियम ०.८ प्रतिशत, आईरन १.१ प्रतिशत पाइन्छ ।

आयुर्वेदको अनुसार गुडको उपयोग घाटी र फोक्सोको संक्रमणको उपचारमा लाभदायक मानिन्छ । साहू आनन्द प्रसाद र सक्सेना असोक कुमार ले सन १९९४ मा गरेका एउटा अनुसन्धान अनुसार गुडको नियमित उपयोगले कोइला र सिलिका धूलो(जसले गर्दा गिट्टी कुट्ने हरू लाई फोक्सोको समस्या देखिन्छ) ले हुने फोक्सोको क्षति लाइ रोक्न सकिन्छ ।

गुड खानाले फोक्सोमा म्यूकस मेम्ब्रेन सक्रिय हुन्छ जसले संक्रमण र खोकी वाट राहत मिल्न । यसमा एन्टि एलर्जिक तत्व समेत हुन्छ यसले गर्दा दमको बिरामीलाई यसको सेवन ले फायदा पुग्छ ।

महात्मा गान्धीले गुड तुरुन्त रगतमा नमिसिने भएकोले यो चिनीको दाँजोमा बढी स्वास्थ्य वर्धक रहेको बताएका थिए । गान्धी आफ्नो व्यक्तिगत आहारमा समेत नियमित रूपमा गुडको उपयोग गर्ने गरेको पुस्तकहरूमा उल्लेख छ ।

सामान्य रूपमा गुडको प्रयोग चिनीको दाँजोमा सधैँ बढी सुरक्षित र लाभकारी हुन्छ । तर डाइविटिज (मधुमेह) को बिरामीको को लागि चिनी मात्र नभइ गुड पनि असुरक्षित हुन्छ । क्यालोरी को दृष्टिकोणले हेर्दा गुड र चिनीमा कुनै विशेष अन्तर छैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!