एन्टिबायोटिक औषधिको दुरुपयोगले विश्वमा वर्षेनी ७ लाखको मृत्यु / नेपाली बजारमा करिब ३ सय ६५ ब्रान्डका एन्टिबायोटिक
काठमाडौं – विश्वमा वर्षेनी करिब सात लाख मानिसहरूको मृत्यु जीवाणु विरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिहरूको समुचित प्रयोग न हुनाले भइरहेको छ ।
यसको नियन्त्रणको लागि ठोस कदमहरू नचाल्दा यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले अनुमान गरेको छ ।
एन्टिबायोटिक औषधिहरूको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरूको उपचारमा बाधा उत्पन्न भएर आम व्यक्तिको मृत्यु भइ रहेको हो ।
मानवीय क्षतिका साथै विश्व भरि करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने र यसको प्रत्यक्ष असर नेपाल जस्तो विकासोन्मुख देशहरूमा पर्ने डब्लुएचओले चेतावनी समेत दिएको छ ।
यस्तै भयावह स्थिति बारे जन चेतना जगाउन नेपाल लगायत विश्व भरीमा नोभेम्बर १८ देखि २४ तारिख सम्म वर्षेनी विश्व एन्टीमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह डब्लुएचओ, विश्व खाद्य तथा कृषि संगठन, विश्व पशुस्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा मनाइने गरिन्छ ।
विगत केही दशक देखि प्रति जैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको छ ।
यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कम हुँदै गएको छ ।
नेपालमा वर्षेनी एक अर्ब अमेरिकी डलर बराबरको एन्टिबायोटिक आयात हुन्छ जुन कुल औषधी आयातको ३० प्रतिशत हो ।
नेपाली बजारमा करिब ३ सय ६५ ब्रान्डका एन्टिबायोटिक औषधीहरू उपलब्ध छन् र देश भित्रै करिब ५० कम्पनीले एन्टिबायोटिक औषधी उत्पादन गर्छन् ।
गाईबस्तु, सुँगुर र कुखुरा वृद्धि र उत्पादन घाटा कम गर्ने उद्देश्यले एन्टिबायोटिकको चरम दुरुपयोग गरिने गरेको छ । यसरी प्रयोग गरिने खुराकहरूले प्रतिरोधी जीवाणुहरू सिर्जना गर्ने सम्भावना हुन्छ जुन मानिसहरूमा समेत सर्न सक्छ ।
अझै पनि दुग्ध विकास फार्महरूमा एन्टिबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन जसले गर्दा यस्ता मासु र दूध जन्य पदार्थको उपभोगले जनस्वास्थ्य जोखिम उच्च रहेको छ ।
सीमित उपलब्ध तथ्याङ्कका आधारमा हेर्ने हो भने नेपालमा प्रति जैविक प्रतिरोध को प्रयोग बढ्दो क्रममा रहेको देखाएको छ ।
एन्टीमाइक्रोबियल औषधि रेमिटेन्सले गर्दा मानव स्वास्थ्यमा देखिने प्रतिकूल असर न्यूनीकरणका लागि सबै क्षेत्र र समुदायले समयमा नै प्रभावकारी कदम चाल्न अत्यावश्यक देखिन्छ ।
यस वर्ष मंसिर २ देखि ८ गते सम्म मनाइने सचेतना सप्ताहको मुख्य उद्देश्य विश्वव्यापी समस्याको रुपमा विकसित भई रहेको एन्टीमाइक्रोबियल रेसिस्टेन्स रोकथाम तथा नियन्त्रणको लागि ‘एक स्वास्थ्य’, अवधारणा अनुरूप मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य तथा वातावरण क्षेत्रलाई संलग्न गराई एन्टीमाइक्रोबियल औषधिहरूको समुचित प्रयोगको लागि व्यवहार परिवर्तनको सन्देश प्रवाह गर्न/गराउन आम नागरिक एवं सबै सरोकारवालाको भूमिकालाई प्रभावकारी प्रवर्धन गर्नु हो ।
प्रतिक्रिया दिनुहोस