उच्च अदालत पाटनद्वारा नेपाल चिकित्सक संघको निर्वाचनमा रोक/ माघ २ र ३ गते निर्वाचन नहुने


काठमाडौँ – उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया नियम अनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको छ। यस सँगै माघ २ र ३ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको छ।

न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले आइतबार निषेधाज्ञा सम्बन्धी मुद्दामा अन्तरिम आदेश सुनाएको हो। डा. अजय कुमार मिश्र समेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाएर दायर गरेको रिट माथि सुनुवाइ गर्दै अदालतले संघले २०८२/६/२० मा प्रकाशित सूचना अनुसार अघि बढाएको निर्वाचन प्रक्रिया निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गत नियम ६ बमोजिम पूरा भएको नदेखिएको निष्कर्ष निकालेको छ।

अदालतले अन्तिम आदेश नआए सम्म यथा स्थितिमा निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने जनाएको छ। उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम जारी आदेश अनुसार विपक्षीलाई आदेशको सूचना दिई नियमानुसार पेश गर्न भनिएको छ।

सुनुवाइका क्रममा निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य तथा अधिवक्ता गोकुल भण्डारी उपस्थित थिए। विपक्षी नेपाल चिकित्सक संघका तर्फबाट वरिष्ठ अधिवक्ताहरू उपेन्द्र केशरी न्यौपाने, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी र अधिवक्ता बाबुराम अर्यालले बहस गरेका थिए।

मुद्दा दायर गर्ने ‘टिम रिफर्म’ का महासचिव डा. अमृत भुषालले नेपालहेल्थप्रेसलाई बताए अनुसार मुद्दाको अर्को पेशी माघ ६ गतेका लागि तोकिएको छ। निर्वाचन तालिका अनुसार उपत्यका बाहिर माघ २ र ३ गतेका लागि तय निर्वाचन अब नहुने भएको उनले स्पष्ट पारे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!