काठमाडौंको रायो सागमा ९९.०८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटियो


काठमाडौं- नियमित रूपमा अर्गानोफस्फेट समूहका विषादी मिसिएका तरकारी सेवन गर्दा स्नायु प्रणालीमा असर पर्नुका साथै मिर्गौला, मुटु, फोक्सो, मानसिक स्वास्थ्य, प्रजनन प्रणालीमा समस्या देखिनु र क्यान्सर सम्मको जोखिम बढ्न सक्ने चेतावनी दिइँदै आएका बेला काठमाडौंमा संकलित रायो सागमा अत्यन्त उच्च मात्रामा यही विषादी भेटिएको छ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा मंगलबार काठमाडौँबाट ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी फेला परेको हो।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गर्दा काठमाडौँमा उत्पादित/ सङ्कलित रायो सागमा उक्त मात्रामा विषादी देखिएको जनाएको छ। प्रयोगशालाका अनुसार यस्तो मात्रा भएको रायो साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य हो।

अर्गानोफस्फेट तरकारी, फलफूल तथा बालीमा कीरा नियन्त्रणका लागि प्रयोग हुने न्युरोटोक्सिक रासायनिक विषादी हो। यसको अवशेष शरीरमा प्रवेश गर्दा ‘एसेटाइलकोलिनेस्टेरेज’ नामक इन्जाइमको कार्य अवरुद्ध भई स्नायु प्रणालीमा असन्तुलन आउँछ। यसका कारण टाउको दुखाइ, अत्यधिक पसिना, आँसु आउने, पखाला, चक्कर, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन्।

विज्ञहरूका अनुसार लामो समय सम्म सानो सानो मात्रा निरन्तर सेवन हुँदा मिर्गौला, मुटु, फोक्सो, मानसिक स्वास्थ्यमा असर, प्रजनन सम्बन्धी समस्या र क्यान्सर सम्मको जोखिम बढ्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

सरकारी मापदण्ड अनुसार अर्गानोफस्फेट को मात्रा ३५ प्रतिशत भन्दा कम भएमा मात्रै तरकारी उपभोग योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशत सम्म भेटिए केही दिन क्वारेन्टाइनमा राखे पछि प्रयोग गर्न सकिने व्यवस्था छ। ४५ प्रतिशत भन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिन्छ । हाल रायो सागमा देखिएको मात्रा सरकारद्वारा उपभोग गर्न अयोग्य मानिएको मात्रा भन्दा दोब्बर बढी हो।

नेपालमा अर्गानोफस्फेट समूहका धेरै विषादीहरू आधिकारिक रूपमा प्रतिबन्धित वा कडाइ गरिएको भए पनि किसानले अझै प्रयोग गर्ने गरेको विज्ञहरूको भनाइ छ।

तरकारी बगिरहेको पानीमा राम्ररी धुने, नुन वा सिरकायुक्त पानीमा केही समय भिजाउने र पकाएर खाने जस्ता उपायले तरकारी साग सब्जी को सतहमा रहेको केही विषादी घटाउन मद्दत गर्न सक्छ। तर यसले विषादी पूर्ण रूपमा हट्छ भन्ने सुनिश्चित हुँदैन।

यस अघि पनि कालीमाटी बजारमा हरियो धनियाँ, काँक्रो, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!