नेपालले जेरियाट्रिक सेवामा थप गति दिँदै :स्वस्थ बुढ्यौलीको अवधारणा सहित एपीजीएन सम्मेलन सम्पन्न
काठमाडौं – नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र गतिमा बढिरहेका बेला राज्यले जेरियाट्रिक सेवा सुदृढिकरणलाई प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बताइन्।
उनका अनुसार ज्येष्ठ नागरिक मैत्री स्वास्थ्य संरचना, दीर्घरोग व्यवस्थापन र समुदायमा आधारित हेरचाह प्रणाली विस्तार सरकारको मुख्य कार्यसूचीमा परेको छ।
मन्त्री शर्माले ‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ को काठमाडौं सत्रमा सहभागी चिकित्सक र अनुसन्धानकर्तालाई सम्बोधन गर्दै नेपाल लगायत २० राष्ट्रले सहकार्यबाट प्राप्त ज्ञानले स्वस्थ बुढ्यौलीको अवधारणा थप बलियो हुने विश्वास व्यक्त गरिन्।
एक दिने सम्मेलन जेरियाट्रिक सोसाइटी अफ नेपाल र एपीजीएनको संयुक्त आयोजनामा सम्पन्न भएको हो। ‘फ्रम ओसियन टु द हिमालयजः ट्रान्सफर्मिङ जेरियाट्रिक केयर टुगेदर’ शीर्षकमा आयोजना भएको कार्यक्रममा डिमेन्सिया, कग्निसन, जेरियाट्रिक चिकित्सा, मूभमेन्ट डिसअर्डर्स, स्ट्रोक, शारीरिक गतिविधि, ज्येष्ठ नागरिक हेरचाह, समुदाय आधारित सेवा तथा फ्रेल्टी जस्ता विषयमा विशेषज्ञहरूले अनुसन्धान र अनुभव प्रस्तुत गरे।
सम्मेलनमा २० भन्दा बढी मुलुकका जेरियाट्रिक रोग विशेषज्ञ, अनुसन्धानकर्ता तथा विश्वविद्यालयका प्राध्यापक सहित झन्डै १५० जना सहभागी भए।
प्रधानमन्त्री सुशीला कार्कीले पठाएको सन्देशमा स्वस्थ र सम्मानजनक बुढ्यौलीका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य रहेको जनाइन्। उनले नेपालका ६२ अस्पतालमा जेरियाट्रिक सेवा विस्तार भइरहेको र मानव संसाधन तथा नीतिगत सुधारलाई सरकार उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन्।
कार्यक्रममा एपीजीएनका अध्यक्ष प्रो. लिओन फ्लिकरलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ समेत प्रदान गरिएको थियो।
जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा. उमेश बोगटीले क्षेत्रीय साझेदारी मार्फत वृद्धहरूको सम्मानजनक र अर्थपूर्ण जीवन सुनिश्चित गर्न सकिने बताए। उनका अनुसार सम्मेलनले नेपालमा स्वस्थ बुढ्यौलीका मुद्दा प्रवर्द्धनमा नयाँ गति दिएको छ।
विशेषज्ञहरूले एशिया प्यासिफिक क्षेत्रमा बढ्दै गएको ज्येष्ठ जनसङ्ख्या व्यवस्थापनका लागि यस्ता संयुक्त पहलले दीर्घकालीन नीतिगत सहयोग प्रदान गर्ने बताए।


प्रतिक्रिया दिनुहोस