माल्दिभ्स: सन २००७ पछि जन्मेकाले सिगरेट नछुने र विश्वकै पहिलो ‘धूम्रपान शून्य देश’
माले- माल्दिभ्सले श्वासलाई धुवाँ मुक्त बनाउने दिशामा ऐतिहासिक कदम चालेको छ। देशले नोभेम्बर १ तारिख देखि ‘धूम्रपान शून्य कानून’ लागू गरेको हो । जस अन्तर्गत सन २००७ पछि जन्मिएका कुनै पनि व्यक्ति, चाहे ती माल्दिभ्सका नागरिक हुन् वा पर्यटक, अब सिगरेट, तमाखु, सुर्ती, ईसिगरेट वा वेपिङ उत्पादन किन्न वा प्रयोग गर्न पाउने छैनन ।
यस सँगै माल्दिभ्स नयाँ पुस्तालाई पूर्ण रूपमा तमाखुमुक्त बनाउने विश्वकै पहिलो देश बनेको छ।माल्दिभ्स स्वास्थ्य मन्त्रालयले २०२५ नोभेम्बर १ देखि ‘तम्बाकूमुक्त पुस्ता कानून’ आधिकारिक रूपमा लागू भएको पुष्टि गरेको छ । यो नियम विदेशी पर्यटकहरूमा पनि समान रूपमा लागू हुनेछ ।
पसलहरूले ग्राहकको उमेर अनिवार्य रूपमा जाँच गर्नु पर्नेछ। नाबालिगलाई तमाखु बेच्ने पाइएमा ५० हजार माल्दिभियन रूफिया (झण्डै ४ लाख ६० हजार ८ सय रुपैयाँ) जरिवाना तोकिएको छ । त्यसै गरी, ईसिगरेट वा वेपिङ प्रयोग गर्दा भेटिएमा ५ हजार रूफिया (करिब ४६ हजार ४ सय रुपैयाँ) जरिवाना गरिनेछ।
राष्ट्रपति मोहम्मद मुइज्जुको स्वास्थ्यमुखी नीति अन्तर्गत यो निर्णय लिइएको हो, जसको उद्देश्य नसर्ने रोगहरूबाट बचाव गर्नु र युवा पुस्तालाई नशाबाट टाढा राख्नु हो। राष्ट्रपति मुइज्जुले भने, ‘यो कानून स्वस्थ र उत्पादक समाज निर्माण तर्फको निर्णायक कदम हो।’

प्रतिक्रिया दिनुहोस