कोशी प्रदेशमा बहु दीर्घरोग व्यवस्थापन अध्ययन सुरु
	
                                            विराटनगर – कोशी प्रदेशमा बहु दीर्घकालीन रोग (मल्टिमोरबीडिटी) व्यवस्थापनका लागि नयाँ अध्ययन औपचारिक रूपमा सुरु गरिएको छ ।
सेन्टर फर रिसर्च पलिसी एण्ड इम्प्लिमेन्टेसन (सिआरपीआई) ले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको सहकार्यमा सुनसरी र मोरङ जिल्लामा ‘इम्प्लिमेन्टेसन एन्ड इभ्याल्युवेसन अफ नोभेल कोडिजाइन्ड ईन्टीग्रेटेड मल्टीमोर्बीडिटी म्यानेजमेन्ट (टाइप २ हाइब्रिड ईम्प्लीमेन्टेसन ट्रायल) अध्ययन शुभारम्भ गरेको हो ।
यो अध्ययन अस्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) को नेतृत्वमा, एनएचएमआरसी र जिएसीडी को सहयोगमा पाँच वर्ष सम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा एएनयु का प्राध्यापकहरूले परियोजनाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए। अध्ययनको केन्द्रमा समुदायमा कार्यरत स्वास्थ्यकर्मीहरू रहनेछन, जसले आफ्ना समुदाय भित्र नै दीर्घरोग व्यवस्थापनमा नयाँ मोडेल लागू गर्नेछन्।
अस्ट्रेलियन नेशनल युनिभर्सिटी का डा. उदय यादवका अनुसार नेपालका समुदायहरूमा बहुदीर्घरोगको प्रभाव गम्भीर रूपमा देखिएको छ। ‘प्राथमिक स्वास्थ्य सेवा अझै गुणस्तरीय छैन’, उनले भने -‘कतिपय चिकित्सकले एउटै रोगमा ध्यान दिन्छन्, तर अन्य स्वास्थ्य समस्या बेवास्ता हुन्छ। यस्तो अवस्थामा धेरै बिरामी घरेलु वा परम्परागत उपचार तर्फ आकर्षित हुन्छन्।’ उनका अनुसार पश्चिमी खानपान र जीवनशैलीले दीर्घरोगको जोखिम झनै बढाएको छ।
डा. यादवले दीर्घरोगको व्यवस्थापनका लागि समग्र दृष्टिकोण आवश्यक रहेको बताए। समुदायस्तरमा स्वास्थ्य व्यवहार परिवर्तन कठिन भए पनि दीर्घकालीन समाधान त्यहीँबाट सुरु हुने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै नेपाल सरकारको पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बहु दीर्घरोग व्यवस्थापनमा व्यवहार परिवर्तनमुखी पहलको महत्त्व माथि जोड दिए। उनले दीर्घरोग भएका व्यक्तिहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्ने कार्यक्रमहरू दीर्घकालीन सुधारका लागि अत्यावश्यक रहेको बताए।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. नरेन्द्र भट्टले नेपालमा औषधिको अत्यधिक प्रयोगले चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै चिकित्सकहरूका लागि स्पष्ट क्लिनिकल गाइडलाइन तयार पार्नु जरुरी रहेको बताए। उनका अनुसार, सुसंगत र सन्तुलित उपचार नीतिबाट दीर्घरोग व्यवस्थापन बढी प्रभावकारी बन्न सक्छ।
यी विज्ञहरूको अभिमतले नेपालमा बहु दीर्घरोगको सामना गर्न औषधि प्रयोग, व्यवहार परिवर्तन र नीतिगत मार्ग निर्देशन बीच सहकार्य आवश्यक रहेको देखाउँछ।
सुनसरी र मोरङमा लागू हुने यो सामुदायिक स्वास्थ्य मोडेलले स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै बिरामी र परिवार बीच स्वास्थ्य साक्षरता र आत्म व्यवस्थापनको विश्वास बढाउने उद्देश्य राखेको छ। साथै प्राथमिक स्वास्थ्य सेवा भित्र समन्वय र रिफरल प्रणाली सुदृढ गर्न सहयोग पुर्याउनेछ।
उद्घाटन समारोहमा कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरे समेत सहभागी थिए। कार्यक्रममा प्रदेश तथा संघीय तहका स्वास्थ्य विशेषज्ञहरू, बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरू र विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो। सहभागीहरूले अध्ययनले नेपालमा दीर्घरोग व्यवस्थापनको नयाँ दिशा निर्देश दिने विश्वास व्यक्त गर्दै सफल कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

                            
                            
				
				
				
				
				
				
				
				
प्रतिक्रिया दिनुहोस