डाक्टर सहित पाँच कर्मचारी बर्खास्त, तीन माथि कारबाही: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुशासन उल्लंघन
धरान – पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्तरिक अनुशासन उल्लंघनका कारण डाक्टर सहित पाँच कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही गरेको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला ले नेपालहेल्थप्रेसलाई बताए अनुसार बर्खास्त हुनेमा स्त्रीरोग विशेषज्ञ तथा पूर्व रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी पनि छन्। डा. रेग्मी काठमाडौं स्थित सिभिल अस्पतालका निर्देशकका रूपमा दुई वर्षका लागि काजमा गएका थिए। काज अवधि सकिए पछि पनि प्रतिष्ठानमा हाजिर नभएकाले कार्यकारिणी समितिको निर्णय अनुसार उनलाई बर्खास्त गरिएको हो।
त्यस्तै, स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी सहायक प्राध्यापक लक्ष्मी सुवेदीलाई अध्ययन बिदा स्वीकृति नलिई नियम विपरीत विदेश गएपछि बर्खास्त गरिएको छ।
काममा लापरबाही, नियम उल्लंघन र अनुशासनहीनताका कारण कर्मचारी दिरण भट्टराई र सुरेन बास्फोरलाई पनि बर्खास्त गरिएको रजिस्ट्रार संग्रौलाले बताए।
त्यसै गरी, हाडजोर्नी विभाग प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाउने विभागीय कारबाही गरिएको छ।
प्राध्यापक श्याम लम्सालले प्राध्यापक बढुवाको क्रममा नियम उल्लंघन गरेको पाइएको प्रतिष्ठानले जनाएको छ। लम्साल हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङका रजिस्ट्रार हुन्। बीपी प्रतिष्ठानको नियम अनुसार प्राध्यापकमा बढुवा हुन कम्तीमा छ वर्ष एसोसिएट प्रोफेसरका रूपमा कार्य गर्नु पर्ने व्यवस्था भए पनि, सेवा अवधि नपुगी नै बढुवा प्रक्रिया पूरा गरिएको पाइए पछि स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा परेको उजुरीको छानबिन पछि उनले राजीनामा दिएका थिए।
कार्यकारिणी समितिको निर्णय अनुसार उनलाई दुई तह घटाई केही सेवा सुविधा प्रदान गर्दै राजीनामा स्वीकृत गरिएको रजिस्ट्रार संग्रौलाले जानकारी दिए।
डा. संग्रौलाका अनुसार प्रतिष्ठान भित्र नियम विपरीत कार्य गर्ने अन्य दर्जनभन्दा बढी चिकित्सक माथि पनि छानबिन जारी छ, र उनीहरू विरुद्ध समेत कारबाहीको तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस