एन्टिमाइक्रोबियल रेसिस्टेन्स रोकथाम र सबैका लागि स्वास्थ्यमा तीव्रता ल्याउने प्रतिबद्धता :डब्ल्यूएचओ दक्षिण पूर्व एशिया बैठक

नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई 'पब्लिक हेल्थ च्याम्पियन अवार्ड'


कोलम्बो – श्रीलङ्काको कोलम्बोमा सम्पन्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्व एशिया क्षेत्रीय समितिको ७८औं अधिवेशनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणलाई प्राथमिकतामा राख्दै सबैका लागि स्वास्थ्य सुनिश्चित गर्न नयाँ निर्णय र प्रतिबद्धता गरेको छ।

बैठकमा सदस्य राष्ट्रहरूले प्रमुख सार्वजनिक स्वास्थ्य चुनौतीहरूमा साझा नीति, कार्ययोजना र लगानीको प्रतिवद्धता जनाएका छन् ।

एएमआरलाई विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्यका लागि ठूलो खतरा मानिँदै आएको छ, जसले सन् २०२१ मा करिब ४७ लाख १० हजार  मानिसको ज्यान लिएको अनुमान गरिएको छ। ती मध्ये आधा भन्दा बढी मृत्यु एशिया प्यासिफिक क्षेत्रमा भएका थिए।

यसलाई रोक्न सदस्य राष्ट्रहरूले राष्ट्रिय कार्य योजना अद्यावधिक गर्न, अन्तर क्षेत्रीय समन्वय सुदृढ गर्न, घरेलु लगानी बढाउन र उच्च तहबाट नीति निर्देशन सुनिश्चित गर्न सहमति जनाए।

बैठकको अर्को मुख्य उपलब्धि ‘कोलम्बो घोषणा’ रह्यो, जसले प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै ‘स्वस्थ वृद्धावस्था’ (हेल्दी एजिङ) प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यसले २०५० सम्म दुई गुणा हुने वृद्ध जनसंख्याको स्वास्थ्य र कल्याणमा जोड दिएको छ।

बैठकले सार्वजनिक स्वास्थ्य आपतकाल र विपद्को जोखिम न्यूनीकरणका लागि तयारी, समन्वय र द्रुत प्रतिक्रिया क्षमतामा लगानी प्राथमिकता दिने निर्णय पनि गरेको छ। यसका लागि आपतकालीन स्वास्थ्य टोली (इमर्जेन्सी मेडिकल टिम) जस्ता पहल विस्तार गर्न सदस्य राष्ट्रहरू सहमत भए।

त्यस्तै, दक्षिण पूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष का अद्यावधिक नीति र कार्यविधि स्वीकृत गर्दै २०२६ – २०२७ बाट लागू गर्ने निर्णय गरियो। सन् २००८ देखि सुरु भएको यो कोषले १० देशमा ४९ वटा आपतकालीन अवस्थाहरूमा सहयोग पुर्‍याइ सकेको छ।

सुर्तीजन्य पदार्थ, निकोटिन युक्त नयाँ उत्पादन र सुपारीको प्रयोग नियन्त्रण गर्न क्षेत्रीय रणनीतिक रूपरेखा पारित गरिएको छ। यसले यी उत्पादनहरूको उत्पादन, बिक्री, विज्ञापन र प्रायोजनमा प्रतिबन्ध लगाउने र स्वास्थ्य, शिक्षा, अर्थ, कानुन, सञ्चार लगायतका क्षेत्रमा समन्वय बढाउने सिफारिस गरेको छ।

सदस्य राष्ट्रहरूले जलवायु संकटलाई सार्वजनिक स्वास्थ्यको दृष्टिले अभूतपूर्व चुनौतीका रूपमा लिँदै, सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै जलवायु कार्यमा स्वास्थ्यलाई केन्द्रमा राख्ने सहमति पनि गरे।

त्यस्तै, आप्रवासीहरूको स्वास्थ्यका लागि सार्वभौमिक स्वास्थ्य सेवा नीतिमा ‘माइग्रेन्ट संवेदनशील’ दृष्टिकोण अपनाउने र सिमानापार सहकार्य सुदृढ गर्ने निर्णय पनि गरियो।

बैठकमा विद्यालयमा स्वास्थ्य प्रवर्द्धन, नागरिक दर्ता र तथ्यांक प्रणाली सुदृढीकरण, शारीरिक सक्रियता प्रवर्द्धन र स्वास्थ्य शिक्षामा ‘हेल्थ ह्युम्यानिटिज’ समावेश गर्ने विषयमा पनि प्रस्तावहरू पारित भए। हृदयघात नियन्त्रणका लागि सुरु गरिएको कार्यक्रमलाई सन् २०३० सम्म विस्तार गर्ने निर्णय गरिएको छ।

नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड’

बैठकको साइड इभेन्टमा, डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेसस र क्षेत्रीय कार्यवाहक अधिकारी डा. क्याथरिना बोहमेले नेपालका महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ प्रदान गरे। सामुदायिक स्तरमा स्वास्थ्य सेवा सुदृढीकरणमा उनीहरूले खेलेको रुपान्तरणकारी भूमिकालाई कदर गर्दै यो सम्मान दिइएको हो।

यसै अवसरमा, माल्दिभ्सले हेपाटाइटिस बी, एचआईभी र सिफिलिसको आमा शिशु संक्रमण उन्मूलन गरी ‘ट्रिपल इलिमिनेशन’ हासिल गरेको पहिलो देशको रूपमा मान्यता पायो। नेपालले रुबेला उन्मूलनमा सफलता हासिल गरे बापत प्रशंसा पायो भने टिमोर लेस्टेले औलो उन्मूलनका लागि सम्मान प्राप्त गर्‍यो।

बैठक सुरु हुनु अघि श्रीलङ्का स्वास्थ्य मन्त्रालय र डब्ल्यूएचओले ‘क्षेत्रीय युवा परिषद’ स्थापना गरेका थिए । जसले स्वास्थ्य र कल्याणमा युवाको सक्रिय र सार्थक सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!