स्नायु रोगका कारण वर्षेनी १ करोड १० लाख मृत्यु : तत्काल कदम आवश्यक डब्ल्यूएचओ


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व भर बढ्दै गएको स्नायु सम्बन्धी रोगका कारण हरेक वर्ष करिब १ करोड १० लाख मानिसको मृत्यु हुने तथ्य सार्वजनिक गर्दै तत्काल कदम चाल्न सरकारहरूलाई आग्रह गरेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको ग्लोबल स्टाटस रिपोर्ट अन न्युरोलोजी अनुसार, विश्व जनसंख्याको ४० प्रतिशत भन्दा बढी अर्थात् ३ अर्ब भन्दा बढी मानिस कुनै न कुनै स्नायु रोगबाट प्रभावित छन । तर विश्वका एक तिहाइ भन्दा कम देशहरू सँग मात्रै यस्ता रोगका लागि राष्ट्रिय नीति रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार सन २०२१ सम्म मृत्यु र अपाङ्गता बढाउने प्रमुख १० स्नायु रोगमा स्ट्रोक, नवजात शिशुमा देखिने मस्तिष्क विकार (नियोनेटल इन्सेफालोप्याथी), माइग्रेन, अल्जाइमर र अन्य डिमेन्सिया, मधुमेह जन्य स्नायु क्षति (डायाबेटिक न्युरोप्याथी), म्यानिन्जाइटिस, एपिलेप्सी, समय अगावै जन्म सँग सम्बन्धित स्नायु समस्या, अटिज्म स्पेक्ट्रम डिसअर्डर र स्नायु प्रणालीका क्यान्सर रहेका छन ।

न्युरोलोजिस्टको चरम अभाव

डब्ल्यूएचओको अनुसार निम्न आय भएका देशहरूमा स्नायु रोगको बोझ अत्यधिक भए पनि त्यहाँका स्वास्थ्य संरचना कमजोर छन्। धनी देशहरूको तुलनामा ती मुलुकमा स्नायु विशेषज्ञ (न्युरोलोजिस्ट) ८० गुणा कम छन्। धेरै देशमा नीति, बजेट र जनशक्ति नहुँदा उपचार र हेरचाहको पहुँच सीमित रहेको संगठनले जनाएको छ।

डब्ल्यूएचओका सहायक महानिर्देशक डा. जेरेमी फ्याररले मस्तिष्क सम्बन्धी समस्या विश्वभर तीव्र गतिमा बढ्दै गएको बताए। उनले भने, ‘विश्वका प्रत्येक तीन जनामध्ये एक जनाले मस्तिष्क सँग सम्बन्धित समस्या भोगिरहेका छन्। यी मध्ये धेरै रोग रोकथाम गर्न वा उपचार गर्न सकिने भए पनि सेवा अझै पनि धेरैको पहुँचभन्दा टाढा छ, विशेष गरी ग्रामीण र पिछडिएका क्षेत्रमा।’

उनका अनुसार, स्वास्थ्य सेवाको अभावका कारण लाखौं मानिसले समयमै उपचार नपाई अकालमै ज्यान गुमाइरहेका छन्। उनले सरकारले मस्तिष्क स्वास्थ्यलाई प्राथमिकतामा राखी लगानी बढाउनु पर्नेमा जोड दिए।

तथ्यांकले देखायो गम्भीर अवस्था

रिपोर्टले विश्वका १९४ सदस्य देशमध्ये केवल १०२ देशले मात्र अध्ययनका लागि तथ्यांक उपलब्ध गराएको जनाएको छ, जसले यस विषयमा कम ध्यान दिइएको संकेत गर्छ।

कुल सदस्य राष्ट्रमध्ये ६३ देश (३२ प्रतिशत) सँग मात्रै स्नायु रोग सम्बन्धी नीति रहेको र ३४ देश (१८ प्रतिशत) ले मात्रै यसका लागि छुट्टै बजेट व्यवस्था गरेको तथ्य सार्वजनिक भएको छ।

यस्तै, ४९ देश (२५ प्रतिशत) ले मात्र स्नायु रोगलाई विश्वव्यापी स्वास्थ्य कभरेज को लाभ प्याकेजहरूमा समावेश गरेका छन्। धेरै मुलुकमा स्ट्रोक युनिट, बाल न्युरोलोजी, पुनर्स्थापना र पलिएटिभ केयर जस्ता सेवा सहरमा मात्र सीमित छन्। ग्रामीण र पिछडिएका समुदायका मानिसहरू का लागि यी सेवा अझै पहुँच बाहिर छन्।

कमजोर प्रणाली र अनुसन्धान अभाव

रिपोर्टले कमजोर स्वास्थ्य सूचना प्रणाली, न्यून लगानी र अनुसन्धानको अभावका कारण प्रमाणमा आधारित नीति बनाउन कठिनाइ भएको जनाएको छ। यसका कारण धेरै देशमा रोगको वास्तविक अवस्था र उपचार आवश्यकता पहिचान गर्न सकिएको छैन।

स्नायु रोग प्रायः दीर्घकालीन हेरचाह चाहिने रोग हुन्। तर रिपोर्टका अनुसार केवल ४६ देशले मात्र हेरचाहकर्ता का लागि सेवा उपलब्ध गराएका छन् र ४४ देशमा मात्रै कानुनी सुरक्षा व्यवस्था छ। यसको असर प्रायः महिलाहरूमा पर्ने गरेको डब्ल्यूएचओले जनाएको छ, जसले सामाजिक असमानता र थप आर्थिक बोझ बढाउँछ।

२०२२ को कार्ययोजना

यी चुनौतीहरूलाई सम्बोधन गर्न सन् २०२२ मा डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले ‘इण्टरसेक्टोरल ग्लोबल एक्सन प्लान अन एपिलेप्सी एण्ड अदर न्युरोलोजिकल डिसअर्डर्स’, पारित गरेका थिए।

सो कार्य योजनाले देशहरूलाई नीति सुदृढ पार्ने, रोग रोकथाम र उपचार सुधार गर्ने, तथ्याङ्क प्रणाली विकास गर्ने र प्रभावित व्यक्तिहरूको अनुभवलाई नीति निर्माणमा समेट्ने मार्गनिर्देशन प्रदान गर्छ।

रिपोर्टमा चेतावनी दिइएको छ कि यदि तत्काल कदम नचालिए, स्नायु रोगको बोझ विश्व भर झनै बढ्दै जानेछ र स्वास्थ्य असमानता अझ गहिरो हुनेछ।

विश्व स्वास्थ्य संगठनले सबै देशहरूलाई स्नायु रोगका बढ्दो चुनौती रोक्न तत्काल कदम चाल्न आग्रह गरेको छ। यस अन्तर्गत डब्ल्यूएचओले सुझाएका प्रमुख बुँदाहरू मा स्नायु रोगलाई स्वास्थ्य नीति र लगानीको प्राथमिकतामा राख्ने, सार्वभौमिक स्वास्थ्य बीमामार्फत स्नायु उपचारको पहुँच विस्तार गर्ने, जीवन भर मस्तिष्क स्वास्थ्य प्रवर्द्धनका लागि समन्वित कार्य अघि बढाउने र  तथ्यमा आधारित नीति निर्माणका लागि बलियो डेटा प्रणाली र अनुगमन सुनिश्चित गर्ने रहेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!