नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मिनी पीसीएनएल सम्मेलन हुँदै


काठमाडौँ – नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मिनी पीसीएनएल (पर्कुटेनियस नेफ्रोलिथोटोमी) सम्मेलन र कार्यशाला आयोजना हुने भएको छ। यो दुई दिने कार्यक्रम आगामी शुक्रबार देखि राजधानी काठमाडौँमा सुरु हुनेछ।

खड्गी इन्स्टिच्युट अफ एन्डोरोलोजीद्वारा आयोजना गरिएको सम्मेलनमा ४० भन्दा बढी मुलुकका करिब २०० प्रतिनिधि सहभागी हुनेछन्। सहभागी देशहरूमा अमेरिका, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, दक्षिण अफ्रिका, कुवेत, दुबई, कतार, यमन, बहराइन, इराक, बंगलादेश र इजिप्ट लगायतका मुलुकहरू रहेका छन्।

वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा. संजय खड्गीका अनुसार सम्मेलनमा विश्व प्रसिद्ध विशेषज्ञहरूले १४ जना बिरामीमा ‘लाइभ सर्जरी’ प्रदर्शन गर्नेछन्। साथै, मिर्गौलाको पत्थरी सम्बन्धी विषयमा २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ। उनका अनुसार यो सम्मेलन नेपालमा हुने पहिलो अन्तर्राष्ट्रिय मिनी पीसीएनएल सम्मेलन र कार्यशाला हो।

आयोजक संस्थाका अनुसार सहभागीहरूले अन्तर्राष्ट्रिय विज्ञहरूको मार्ग दर्शनमा मिनी पीसीएनएल प्रविधि बारे व्यावहारिक ज्ञान हासिल गर्नका साथै शल्यक्रियाको नयाँ प्रविधि र दृष्टिकोण बुझ्ने अवसर पाउनेछन्।

पीसीएनएल प्रविधि मिर्गौला वा माथिल्लो मूत्रनलीमा रहेका पत्थरी हटाउन प्रयोग गरिन्छ। यो सामान्यतया शॉक वेभ लिथोट्रिप्सी वा युरेटेरोस्कोपीका तुलनामा ठूलो पत्थरीका लागि उपयुक्त विधि हो। मिनी पीसीएनएल भने स्ट्यान्डर्ड पीसीएनएल भन्दा सानो (१–२० फ्रेन्च आकारको) ट्र्याक्ट प्रयोग गरेर गरिने न्यूनतम आक्रामक शल्यक्रिया हो, जसले मिर्गौलाबाट पत्थरी हटाउने प्रक्रिया सरल र सुरक्षित बनाउँछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!