डा. गोविन्द केसीद्वारा निजी मेडिकल कलेजको सिट बढाउने निर्णयको कडा विरोध, पुनः सत्याग्रह गर्ने चेतावनी

काठमाडौं – चिकित्सा शिक्षा र सेवा क्षेत्रका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले हालै चिकित्सा शिक्षा आयोगले गरेको निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने निर्णयको कडा शब्दमा विरोध गर्दै सत्याग्रह गर्ने चेतावनी दिएका छन्। उनले जारी गरेको विज्ञप्तिमा यो निर्णयले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रत्यक्ष नकारात्मक असर पार्ने बताइएको छ ।
डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार शेरबहादुर देउवालाई लक्षित गर्दै जनताका प्राथमिक आवश्यकता पन्छाएर निजी मेडिकल कलेजलाई पोस्ने कार्यमा तल्लीन भएको आरोप लगाए। उनले भने, ‘जनताले बारम्बार माग गरे पनि पहाडी क्षेत्रमा सरकारी मेडिकल कलेज र ठूला अस्पतालहरू प्राथमिकतामा पर्दैनन्, तर ओलीले झापामा राज्यकोष दुरुपयोग गरेर भ्युटावर निर्माण गर्न भने अर्बौं खर्च गर्न सक्ने अवस्था देखिन्छ।
उनले सुदूरपश्चिमका जनताले अझै पनि उपचारका लागि भारत, नेपालगञ्ज र काठमाडौं धाउनु पर्ने बाध्यता खेपिरहेको उल्लेख गर्दै, कैलालीमा बनेको सरकारी मेडिकल कलेज र अस्पताललाई समेत विभिन्न बहानामा सञ्चालन नगरेर रोकिएको तथ्य औंल्याए।
डा. केसीले आयोगको निर्णयले गुणस्तरीय र सस्तो स्वास्थ्य शिक्षा तथा सेवामा आम जनताको पहुँच घटाउने बताएका छन्। उनका अनुसार त्रिवि शिक्षण अस्पतालले १०० जना एमबीबीएस विद्यार्थीलाई पढाउन हिचकिचाइरहेको अवस्थामा पूर्वाधार र बिरामीको चाप न्यून रहेका निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण छ।
उनले निजी मेडिकल कलेजहरू लाई पोषित गर्ने निर्णयका कारण शुल्क बढ्ने र आवासीय चिकित्सकहरू चरम शोषणमा पर्ने अवस्था सिर्जना भएको भन्दै यसको कडा आलोचना गरे।
‘नेपालमा स्वास्थ्य सेवा गुणस्तरहीन भएकै कारण नेताहरू आफैं विदेश उपचारमा धानिने गरेका छन्, तर आम नेपालीको स्वास्थ्यसँग खेलबाड भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
डा. केसीले माग पूरा नगरे आन्दोलनमा जानुपर्ने चेतावनी समेत दिएका छन्। उनले सिट बढाउने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि रोक्न, आवासीय चिकित्सकलाई सरकारी स्तरकै भत्ता उपलब्ध गराउन र विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
हाल दुर्घटनाबाट घाइते रहेका डा. केसीले सरकारलाई केही समयको मोहलत दिएको जनाउँदै माग नसुन्ने अवस्था आए पुनः सत्याग्रहमा जान बाध्य हुने चेतावनी समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस