प्लास्टिक प्रदूषणले वर्षेनी १५ खर्ब अमेरिकी डलर बराबरको स्वास्थ्य क्षति पुर्याउँदै

संयुक्त राष्ट्रसंघको ग्लोबल प्लास्टिक ट्रिटी बैठक अगाडि, स्वास्थ्य अनुसन्धान जर्नल ‘द लान्सेट’ मा प्रकाशित एक नयाँ प्रतिवेदनले चेतावनी दिएको छ कि प्लास्टिक प्रदूषण मानव स्वास्थ्य र पृथ्वीका लागि एक गम्भीर तर अझै कम आँकलन गरिएको खतरा हो, जसलाई तत्काल सम्बोधन गर्न आवश्यक छ।
अन्तर्राष्ट्रिय विज्ञहरूको नेतृत्वमा तयार गरिएको यो प्रतिवेदनले माइक्रोप्लास्टिक र प्लास्टिक रसायनहरू मानव स्वास्थ्यमा पार्ने प्रभावका हालसम्मका प्रमाणहरूको समिक्षा गरेको छ।
प्लास्टिकबाट भारी स्वास्थ्य हानि
बोस्टन कलेज (अमेरिका) का प्रमुख लेखक प्राध्यापक फिलिप जे. ल्याण्ड्रिगनका अनुसार, ‘प्लास्टिकले बाल्यकालदेखि वृद्धावस्थासम्म मानिसहरूमा रोग र मृत्युको कारण बन्दै आएको छ र हरेक वर्ष स्वास्थ्यसँग सम्बन्धित करिब १५ खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्याइरहेको छ।’
प्लास्टिकको सम्पूर्ण जीवनचक्र स्वास्थ्यका लागि जोखिमपूर्ण
प्रतिवेदनअनुसार प्लास्टिक उत्पादन, प्रयोग र नष्ट गर्ने प्रत्येक चरणमा मानव स्वास्थ्यमा खतरा बढाउने तत्वहरू हुन्छन्। प्लास्टिक उत्पादनको क्रममा वायुमा निस्किने प्रदूषकहरूमध्ये पीएम२.५, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड तथा हानिकारक रसायनहरू समावेश छन्, जसको सम्पर्कमा प्लास्टिक उद्योगमा कार्यरत व्यक्ति आउन सक्छन्।
सूचना पारदर्शिताको अभाव
अमेरिका, स्विजरल्याण्ड, जर्मनी र अस्ट्रेलियाका विज्ञहरूले प्लास्टिकमा प्रयोग हुने रसायनहरूको मात्रा, प्रकार, प्रयोग र तिनीहरूको विषाक्तताको जानकारीको अभावतर्फ संकेत गरेका छन्। विज्ञहरू भन्छन्, “धेरै प्लास्टिक रसायनहरू मानिसको जीवनका सबै चरणमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न गर्नसक्ने प्रमाणहरू छन्।
मानव शरीरमै भेटिए माइक्रोप्लास्टिक
रिपोर्टमा मानव कोशिका र शारीरिक तरल पदार्थहरूमा माइक्रोप्लास्टिकको उपस्थिति फेला परेको उल्लेख गरिएको छ। यद्यपि त्यसको पूर्ण प्रभाव बुझ्न अझै थप अनुसन्धान आवश्यक भए पनि तत्काल सावधानी अपनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ। साथै, अनुमान अनुसार ५७ प्रतिशत जथाभावी प्लास्टिक फोहोर कम आय भएका मुलुकहरूमा खुला स्थानमा जलाइन्छ, जुन वायु प्रदूषणको मुख्य स्रोत हो।
प्लास्टिक उत्पादन तीन गुणा बढ्न सक्छ
विज्ञहरूका अनुसार, प्लास्टिक फोहोर मच्छर र अन्य रोगवाहक जीवहरूको प्रजनन स्थल बन्न सक्छ, जसले संक्रामक रोगहरूको फैलावट र एन्टिबायोटिक प्रतिरोधको जोखिम बढाउन सक्छ। रिपोर्टमा भनिएको छ, यदि अहिलेको नीति परिवर्तन भएन भने सन् २०१९ देखि २०६० सम्म प्लास्टिक उत्पादन तीन गुणासम्म बढ्न सक्छ।
सम्भव छ प्लास्टिकको असर व्यवस्थापन गर्नु
प्राध्यापक ल्याण्ड्रिगनका अनुसार, ‘प्लास्टिक प्रदूषणको असर घटाउन नसकिने भने होइन। वैज्ञानिक प्रमाणमा आधारित, पारदर्शी रूपमा अनुगमन हुने, प्रभावकारी रूपमा कार्यान्वयन हुने र पर्याप्त स्रोत सुनिश्चित गरिएका नीतिहरूबाट यसको असरलाई लागत-प्रभावकारी रूपमा न्यूनीकरण गर्न सकिन्छ।’
यूएनको बैठक कहिले?
विश्वव्यापी रूपमा प्लास्टिक प्रदूषण नियन्त्रणका लागि सन् २०२२ मा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले कानूनी रूपमा बाध्यकारी सम्झौता बनाउने निर्णय गरेका थिए, जसलाई ‘ग्लोबल प्लास्टिक सन्धि’ भनिन्छ। यस सन्धिमा प्लास्टिक को सम्पूर्ण जीवनचक्र समेटिएको छ। यसको पाँचौ चरणको बैठक सन् २०२५ अगस्ट ५ मा तय गरिएको छ।
नयाँ परियोजनाको घोषणा
यसै बीच, विज्ञहरूले प्लास्टिकको स्वास्थ्य असर ट्र्याक गर्न नयाँ परियोजना ‘द लान्सेट काउन्ट डाउन अन हेल्थ एण्ड प्लास्टिक्स’ सुरु गर्ने घोषणा गरेका छन्। प्राध्यापक ल्याण्ड्रिगनले भने, ‘यो परियोजनाले प्लास्टिक र रसायनहरूको मानव स्वास्थ्यमा पार्ने प्रभाव मापन गर्ने सूचकहरू विकास गर्नेछ। यस परियोजनाको पहिलो रिपोर्ट सन् २०२६ को मध्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ।’
प्रतिक्रिया दिनुहोस