पटना एम्समा डाक्टरहरूको ड्युटी प्रणालीमा सुधार : अब ३६ घण्टा होइन, ८ घण्टाको सिफ्ट


नयाँ दिल्ली (ब्युरो) – सीमावर्ती बिहार राज्यको राजधानी पटना स्थित  अल इंडिया इन्स्टीच्युट अफ मेडिकल साइन्स (एम्स,पटना)  को प्रसूति तथा स्त्रीरोग विभागले डाक्टरहरूको कार्य सम्बन्धी नयाँ ड्युटी रोस्टर सार्वजनिक गरेको छ। अब देखि जूनियर डाक्टरहरूले ३६ घण्टा लामो सिफ्ट होइन, केवल ८ घण्टा मात्र ड्युटी गर्नु पर्नेछ।

यो निर्णय एमएस प्रथम वर्षका जूनियर डाक्टर यदुवंश साहूको आत्महत्या पछि विद्यार्थी र डाक्टरहरूको मागलाई सम्बोधन गर्दै गरिएको हो।

नयाँ रोस्टर अनुसार, डाक्टरहरूको ड्युटी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। विभाग प्रमुख डा. मुक्त अग्रवाल द्वारा तयार पारिएको यस रोस्टरमा ओपीडी, वार्ड, इलेक्ट्रिक अपरेसन थियेटर (ओटी), साना सर्जरी ओटी तथा लेबर रुमका लागि छुट्टा छुट्टै डाक्टरहरूको टोली तोकिएको छ। योजना अनुसार, एक टोलीले बिहान, अर्को टोलीले रातिको सिफ्ट सम्हाल्नेछ भने तेस्रो टोलीले सो दिन विश्राम पाउनेछ।

जूनियर डाक्टरको स्वास्थ्य र कार्य दबाव कम गर्न पहल

यो नयाँ ड्युटी प्रणालीले लगातार लामो समय सम्म काम गर्दा हुने शारीरिक र मानसिक थकानबाट डाक्टरहरूलाई जोगाउने विश्वास गरिएको छ। मेडिकल विद्यार्थी तथा जूनियर डाक्टरहरूले यस्तो व्यवस्था स्थायी रूपमा कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन्।

डाक्टर यदुवंश साहूको आत्महत्या : व्यवस्थापन सुधारको कारण

१९ जुलाईमा भारतको उडीसा राज्य बाट आएका एमएस प्रथम वर्षका डा. यदुवंश साहूले ३६–३६ घण्टा सम्म काम गर्नु पर्ने दबाब तथा मानसिक तनावका कारण एम्स, पटनाको छात्रावासमै आत्महत्या गरेका थिए।

उनको निधन पछि पटना एम्समा कार्यरत अन्य डाक्टरहरू र विद्यार्थीहरूले लामो समय सम्म ड्युटी लिइनु अन्यायपूर्ण भएको भन्दै विरोध जनाउँदै आएका थिए। उनीहरूको गुनासो पछि अन्ततः एम्स प्रशासनले नयाँ ड्युटी रोस्टर सार्वजनिक गरेको हो।

यो सुधारलाई धेरैले सकारात्मक रूपमा लिए पनि विद्यार्थी र चिकित्सकहरूले यसलाई निरन्तर कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!