धर्मभक्त प्रत्यारोपण केन्द्रबाट एक महिना मै ३० मृर्गौला प्रत्यारोपण, सफलताको नयाँ इतिहास

डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापना भए देखि हाल सम्म १,४७१ जना मृर्गौला र ३४ जना कलेजो प्रत्यारोपण भइसकेको छ।


भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनामै ३० जना बिरामीको सफल मृर्गौला प्रत्यारोपण गरी नयाँ कीर्तिमान कायम गरेको छ। २०८२ सालको असार महिना भरि गरिएको सबै प्रत्यारोपण १०० प्रतिशत सफल भएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यस्तो उच्च संख्यामा प्रत्यारोपण कार्य विश्व मै पनि बिरलै हुने गर्दछ। आर्थिक वर्ष २०८१/८२ मा मात्र केन्द्रले १८६ जना बिरामीको मृर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ। यस्तै, सोही अवधिमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेत र पोखरामा ३/३ जना तथा भेरी अस्पतालमा २ जनाको मृर्गौला प्रत्यारोपण गरिएको थियो।

मस्तिष्क मृतकबाट एकसाथ मृर्गौला र कलेजो

त्यस वर्षमै पहिलोपटक मस्तिष्क मृतकबाट लिइएको एक मृर्गौला र एक कलेजो एउटै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो, जुन नेपालका लागि महत्वपूर्ण उपलब्धि हो।

उमेर, लिङ्ग र जातीय विवरण

मृर्गौला प्रत्यारोपण गराइएका बिरामी मध्ये १४ वर्ष देखि ७१ वर्षसम्मका थिए। ती मध्ये २०–४९ वर्ष उमेर समूहका बिरामीको संख्या सबैभन्दा बढी (८०%) थियो।

लैङ्गिक आधारमा हेर्दा प्रत्यारोपण गराएका मध्ये १३६ जना (७३%) पुरुष र ५० जना (२७%) महिला थिए। तर, अंग दिने व्यक्तिहरु मा महिलाको संख्या उल्टो,  ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष देखिएको छ। यसले अंगदानमा महिलाको सहभागिता उल्लेखनीय भए पनि लैङ्गिक सन्तुलन अझै चुनौती रहेको संकेत गर्छ।

प्रदेश र जातीय विविधता

उपचार गराएका मध्ये बागमती प्रदेशबाट ३२ प्रतिशत, कोशीबाट २७ प्रतिशत, गण्डकीबाट १३ प्रतिशत, लुम्बिनीबाट ११ प्रतिशत, मधेशबाट १० प्रतिशत, कर्णालीबाट ५ प्रतिशत र सुदूर पश्चिमबाट २ प्रतिशत बिरामी आएका थिए।

जातीय वर्गीकरणमा आदिवासी जनजाति समूहका बिरामी सबैभन्दा धेरै (५२%) थिए भने ब्राह्मण–क्षेत्री २६ प्रतिशत, मधेसी ११ प्रतिशत, दलित ९ प्रतिशत र मुस्लिम २ प्रतिशत थिए।

१३ वर्षमा १,५०० बढी प्रत्यारोपण

प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापना भए देखि हाल सम्म १,४७१ जना मृर्गौला र ३४ जना कलेजो प्रत्यारोपण भइसकेको छ।

सेवा विस्तारको योजना, तर अवरोध

नेपाल सरकारले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अन्तर्गत केन्द्रले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा सेवा विस्तार गरि सकेको छ। बाँकी तीन प्रदेशमा सेवा विस्तारको तयारी भइरहेको भए पनि आवश्यक जनशक्ति तालिमका लागि ‘प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने सरकारी घोषणा अझै कार्यान्वयनमा आएको छैन।

त्यस्तै, भवन निर्माणको लागि केन्द्रले भक्तपुर स्थित इट्टा टायल कारखाना, सल्लाघारीको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण–८, सुडाल क्षेत्रको कुनै एक उपयुक्त जग्गा माग गर्दै आएको छ। तर, अहिले सम्म कुनै पनि प्रयास सफल हुन सकेको छैन।

भवन र स्रोतको अभावमा सेवा विस्तार प्रभावित

डा. श्रेष्ठका अनुसार केन्द्र सँग आफ्नै भवन छैन, भक्तपुर अस्पतालको सीमित संरचना भित्र सेवा संचालन हुँदै आएको छ। न्यूनतम स्रोत, जनशक्ति र पारिश्रमिकमा काम गर्दा गर्दै पनि देश भरको दुई तिहाइ अंग प्रत्यारोपण सेवा यही केन्द्र मार्फत भइरहेको उनले बताए।

उनी भन्छन्, ‘यदि उपयुक्त जग्गा प्राप्त भयो भने केन्द्रले आफ्नै स्रोतबाट ५०० शैयाको भवन निर्माण गरी हरेक वर्ष ५०० मृर्गौला र कम्तीमा ५० कलेजो प्रत्यारोपण गर्न सक्छ, जसले अरबौं रुपैयाँको वैदेशिक खर्च बचत गर्नेछ।’

केन्द्रले अंग फेल भएका आर्थिक रूपमा कमजोर नेपालीहरूको ज्यान जोगाउन आवश्यक जग्गा तुरुन्त उपलब्ध गराउन सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!