सरकारी अस्पतालबाट मात्र बीमितले पाउने पहिलो सेवा विन्दु

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सर्वसुलभ बनाउन देश भरका सबै सरकारी स्वास्थ्य संस्थाबाटै ‘प्रथम सेवा विन्दु’ को सेवा लिने व्यवस्था लागू गरेको छ।
अब देखि संघीय, विशेषज्ञ, प्रतिष्ठान र विशिष्टीकृत अस्पतालहरूमा भने स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु रहने छैन, ती अस्पतालहरू प्रेषण केन्द्रका रूपमा मात्र रहने छन्।
स्वास्थ्य बीमा ऐन, २०७४ को संशोधित दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था मार्फत बीमितले सेवा पाउने कानुनी व्यवस्था रहेको भन्दै बोर्डले सेवा विन्दु तोक्दा त्यसैको पालना गर्ने स्पष्ट पारेको छ।
बोर्डका अनुसार यस अघि नै संघी यस्तरका अस्पतालहरूमा सेवा विन्दु नराखी स्थानीय तह अन्तर्गतका आधारभूत अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट सेवा विन्दु सञ्चालन गर्न पत्राचार भइसकेको थियो। यस क्रममा भौतिक पूर्वाधार, जनशक्ति र अन्य मापदण्डहरू पूरा गर्ने विषयमा स्थानीय तहहरूलाई जानकारी दिइएको थियो।
तर हालै सार्वजनिक सूचना पछि कतिपय बीमित र सरोकार वाला पक्षबाट संघीय अस्पतालहरूमा सेवा विन्दु नरहने निर्णय प्रति गुनासो तथा जिज्ञासा बढ्न थाले पछि बोर्डले पुनः स्पष्ट पारेको हो।
बोर्डले सबै स्थानीय तहहरूलाई पत्र लेख्दै आफ्ना क्षेत्रमा कुन-कुन सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु आवश्यक छ भन्ने जानकारी पठाउन र न्यूनतम अपुग मापदण्ड एक महिना भित्र पूरा गर्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ।
बोर्डले स्थानीय तहको माग र प्रस्तावको आधारमा नयाँ सेवा विन्दु थप गर्ने निर्णय आगामी दिनमा लिइने जानकारी समेत दिएको छ।
स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्ल द्वारा हस्ताक्षरित पत्र अनुसार, बीमा कार्यक्रमलाई सहज, प्रभावकारी र व्यवस्थित बनाउन यो कदम चालिएको हो।
प्रतिक्रिया दिनुहोस