अनुसन्धान
अब बिना सुई रगतको सोडियम स्तर मापन गर्न सकिने

अब शरीरबाट रगतको एक थोपा पनि ननिकाली रगतमा रहेको सोडियमको मात्रा थाहा पाउन सकिने प्रविधि विकास भएको छ।
चीनको तिआन्जिन विश्वविद्यालयका वैज्ञानिकहरूले टेराहर्ट्ज विकिरण र अप्टो एकास्टिक डिटेक्सन प्रविधिलाई संयोजन गरी यस्तो प्रविधि तयार गरेका हुन् जसले छाला मार्फत रगतमा रहेको सोडियमको स्तर वास्तविक समयमा मापन गर्न सक्छ।
टेराहर्ट्ज विकिरण माइक्रोवेभ र मिड इन्फ्रारेड क्षेत्रको बिचको इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रममा पर्दछ । यो प्रविधि मानव शरीरको तन्तु लागि हानिकारक हुँदैन।
वैज्ञानिकहरूका अनुसार, रगतमा सोडियमको सटीक मापन डिहाइड्रेशन, मिर्गौला रोग, र केही न्युरोलोजिकल तथा हर्मोन सम्बन्धी समस्याको निदान तथा उपचारमा अत्यन्त आवश्यक हुन्छ।
अनुसन्धान टोलीका वैज्ञानिक डा. झेन तियानका अनुसार, टेराहर्ट्ज स्पेक्ट्रोस्कोपी प्रविधिले जैविक नमूनामा पानी बाहेकका अणुहरू पहिचान गर्नु पर्ने चुनौती सामना गरिरहेको छ। त्यसका साथै, शरीर भित्रको गहिरो तन्तुमा प्रवेश गरी आवश्यक जानकारी प्राप्त गर्नु अर्को चुनौती हो।
यस अध्ययनमा जीवित मुसाको कानको छाला मुनि रहेको रक्तनलीबाट सोडियमको स्तर मापन गरिएको थियो। मापनको क्रममा छालालाई ८ डिग्री सेल्सियससम्म चिसो बनाइएको थियो, जसले पानीबाट उत्पन्न हुने अनावश्यक संकेत हरूलाई कम गर्न मद्दत पुर्यायो।
वैज्ञानिकहरूले ‘टेराहर्ट्ज अप्टो एकास्टिक’ प्रणालीले मानव रक्त नमुनामा उच्च र न्यून सोडियम स्तरको छुट्टा छुट्टै चिनारी गर्न सक्ने क्षमता देखाएका छन्। उनीहरूले अब यस्तो प्रविधि विकास गर्ने प्रयासमा छन्, जसमा छाला चिस्याउन नपर्ने तरिका प्रयोग गरी पनि सटीक नतिजा पाउन सकियोस्।
यो प्रविधिको सफल परीक्षण सँगै भविष्यमा बिना सुई शरीर भित्रको सोडियम स्तर मापन गरी विभिन्न रोगहरूको प्रारम्भिक निदान र उपचारमा सहयोग पुग्ने छ।
प्रतिक्रिया दिनुहोस