अनुसन्धान
विशेष मितिमा गरिने सिजेरियन डेलिभरीले बालबालिकामा रक्त क्यान्सर को जोखिम बढाउने

काठमाडौं -पछिल्लो समय कुनै विशेष तिथि वा अवसरमा सन्तान जन्माउने चाहना धेरै दम्पतीमा देखिन्छ। यसका लागि उनीहरूले योजना बनाएर सिजेरियन शल्यक्रिया (सी-सेक्शन) गराउने प्रवृत्ति बढ्दो छ। तर, यस्ता डेलिभरीबाट जन्मिएका बालबालिकामा भविष्यमा ल्युकेमिया (रक्त क्यान्सर) हुने जोखिम बढी हुने अनुसन्धानले देखाएको छ।
सी-सेक्शन डेलिभरी आवश्यकता अनुसार आपतकालीन अवस्थामा वा पहिले नै योजना बनाएर गरिन्छ। कारोलिन्स्का इन्स्टिच्युटका वैज्ञानिकहरूका अनुसार आपतकालीन सिजेरियनमा बच्चा सामान्य प्रसूति प्रक्रियामा जस्तै वेजाइनल ब्याक्टेरियाको सम्पर्कमा आउँछ, जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सहयोग पुर्याउँछ। तर, योजना बनाएर गरिने सिजेरियनमा बच्चा यस्तो ब्याक्टेरियाबाट वञ्चित हुन्छ, जसले दीर्घकालीन स्वास्थ्य जोखिम बढाउन सक्ने बताइएको छ।
अनुसन्धानकर्ता क्रिस्टिना–एभमोफिया काम्पित्सीका अनुसार, नियोजित सिजेरियनबाट जन्मेका बालबालिकामा भविष्यमा दम (अस्थमा), एलर्जी र टाइप-१ डायबेटिजको खतरा पनि बढी हुने देखिएको छ।
यो अध्ययन इन्टरनेशनल जर्नल अफ क्यान्सर मा प्रकाशित गरिएको हो। सन् १९८२ देखि १९८९ र १९९९ देखि २०१५ बीच जन्मिएका करिब २५ लाख बालबालिकाको विश्लेषण गरिएको थियो। तीमध्ये करिब ३ लाख ७५ हजार (१५.५ प्रतिशत) बालबालिका सिजेरियनबाट जन्मेका थिए। तिनमध्ये १,४९५ जनामा पछि ल्युकेमिया देखिएको हो।
कुल विश्लेषणमा, सिजेरियन शल्यक्रियाबाट जन्मिएका बालबालिकामा सामान्य डेलिभरीबाट जन्मिएकाको तुलनामा ल्युकेमिया हुने सम्भावना करिब ७ प्रतिशतले बढी देखिएको अनुसन्धानले निष्कर्ष निकालेको छ।
प्रतिक्रिया दिनुहोस