स्वास्थ्य मन्त्री पौडेलद्वारा राष्ट्रसंघीय सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य प्रयास वारे प्रस्तुती


काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्री स्तरीय सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य प्रणाली सुधारका पहल बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन्।

सम्मेलनमा मन्तव्य दिंदै मन्त्री पौडेलले नागरिकको स्वास्थ्य सम्बन्धी तथ्यांक विखण्डित अवस्थामा रहेको भन्दै तिनलाई एकीकृत गर्न नेपालले नीति निर्माण र कार्यान्वयन दुवै मोर्चामा प्रयास तीव्र बनाएको उल्लेख गरे।

उनले भने, ‘नागरिक परिचयपत्रसँग स्वास्थ्यसम्बन्धी विवरण जोड्ने कार्य अघि बढाइएको छ, जसबाट एकीकृत तथ्यांक व्यवस्थापन सहज हुनेछ। यसले नीति निर्माणमा देखिएको अस्पष्टता हटाउने आशा गरिएको छ।’

मन्त्री पौडेलले डिजिटल स्वास्थ्य प्रणालीको रूपान्तरणका क्रममा देखिने प्राविधिक चुनौती समाधानका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

सम्मेलनका क्रममा उनले संयुक्त राष्ट्रसंघको एसिया–प्रशान्त क्षेत्रीय कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभाना सँग द्विपक्षीय भेटवार्ता गर्दै सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

उनले घटनाको दर्ता प्रणालीलाई समावेशी र प्रभावकारी बनाउने तर्फ नेपालले तीव्र प्रगति गरिरहेको जानकारी पनि दिए। साथै, क्षेत्रीय गोलमेच बैठकमा समेत सहभागी भएर मन्त्री पौडेलले नेपालका डिजिटल स्वास्थ्य अभियानलाई थप स्पष्ट पारेका थिए।

सम्मेलनमा मन्त्रालयका सहसचिव ढुण्डीराज निरौला पनि सहभागी थिए। उनले सम्मेलनमा नेपालका प्रयास प्रति एसिया–प्रशान्त क्षेत्रका प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिंदै यसले थप काम गर्न प्रेरणा मिलेको बताए। उनले चाँडै नयाँ जनसंख्या नीति ल्याउने तयारी भइरहेको उल्लेख गर्दै, डिजिटल प्रणाली उक्त नीतिको कार्यान्वयनमा महत्वपूर्ण हुने स्पष्ट पारे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!