स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटी निमोनियाका कारण आइसियुमा उपचाररत


काठमाडौँ – स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटी कम्युनिटी एक्वाइर्ड निमोनिया (समुदाय-प्राप्त निमोनिया) बाट ग्रसित भई हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसीयूमा उपचाररत छन् ।

उनी बुधबार अस्पताल भर्ना गरिएका हुन्। फोक्सोमा ब्याक्टेरिया संक्रमणका कारण निमोनिया देखिए पछि उनलाई अक्सिजनको सहायतामा राखिएको छ। उपचारमा संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्त कुमार दासका अनुसार, ‘गम्भीर प्रकारको निमोनिया देखिए पछि डा. बाराकोटीलाई अस्पताल भर्ना गरिएको हो। अहिले उनी आइसियूमा उपचार गराइरहेका छन्।’

डा. बाराकोटीको स्वास्थ्य अवस्था स्थिर हुँदै गएको र अक्सिजनको आवश्यकता पहिले भन्दा घटेकाले आगामी शनिबार सम्ममा उनलाई आइसियूबाट बाहिर सार्ने तयारी चिकित्सकहरूले गरिरहेका छन्।

के हो कम्युनिटी एक्वाइर्ड निमोनिया?

निमोनिया भनेको फोक्सोको तन्तुमा कीटाणु संक्रमणका कारण हुने सुन्न्याई हो। यसको प्रमुख कारणहरूमा ब्याक्टेरिया, भाइरस, र फङ्गस पर्छन्। वयस्कहरूमा ब्याक्टेरिया नै सबैभन्दा सामान्य कारण मानिन्छ।

कम्युनिटी एक्वाइर्ड निमोनिया भनेको त्यस्ता व्यक्तिमा देखिने निमोनिया हो, जो हाल सालै अस्पताल, नर्सिङ होम वा अन्य कुनै स्वास्थ्य सेवा केन्द्रमा गएका छैनन्। यस्तै संक्रमण अस्पताल वा स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तिमा देखिएमा भने त्यसलाई हस्पिटल एक्वायर्ड निमोनिया भनिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!