नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो र मृगौला एउटै बिरामीमा सफल प्रत्यारोपण

भक्तपुर – नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मृगौला एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएकोछ।
मुलुक मै सबै भन्दा बढी मृगौला (१४४१) र कलेजो (३४) प्रत्यारोपण गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा यो शल्यक्रिया सम्पन्न भएको हो ।
केन्द्र का निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न उक्त दुवै अङ्गको प्रत्यारोपणमा नेपाली चिकित्सकहरूको ठूलो टोली संलग्न थियो।
उक्त अङ्ग काठमाण्डौ मेडिकल कलेज, सिनामङ्गलमा २०८१ साल जेठ १ गते मोटरसाइकल दुर्घटनामा परेका १८ वर्षीय मस्तिष्क मृत्यु भएका एक पुरुषबाट प्राप्त गरिएको थियो । ती मस्तिष्क मृत्यु भएका युवा वाट प्राप्त अर्को मिर्गौला समेत अन्य ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको छ ।
प्रत्यारोपण पछि दुबै बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र केही दिन भित्र डिस्चार्ज गरिने योजना रहेको डा.पुकारले बताए ।
नेपालमा मस्तिष्क मृत्यु पछि अङ्ग प्रत्यारोपण २०७४ साल वैशाख २८ गते सुरु गरिएको हो। त्यसयता डा. पुकारको नेतृत्वमा ६ जना मस्तिष्क मृत्यु भएका ब्यक्तिबाट १२ मृगौला र ४ कलेजो प्रत्यारोपण गरी १५ जना बिरामीलाई नयाँ जीवन दिइएको छ ।
मस्तिष्क मृत्यु पछि हुने अङ्गदान र प्रत्यारोपण कार्यक्रमकी राष्ट्रिय संयोजक डा. कल्पना कुमारी श्रेष्ठले अङ्ग प्रत्यारोपण प्रक्रिया पूर्ण पारदर्शी र कानुन अनुसार हुने भएकाले इच्छुक व्यक्तिहरूले नाम दर्ता गरी अभियानमा सहभागी हुन आह्वान समेत गरेकी छिन ।
हाल सम्म केन्द्रले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी गरी चार प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरिसकेको छ भने बाकी तीन प्रदेशमा चाँडै सेवा सुरु गर्ने तयारी भइरहेको छ।
तर, पूर्वाधार अभावका कारण केन्द्रलाई ‘प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने सरकारी घोषणा अझै कार्यान्वयनमा जान नसकेको डा.पुकारले बताए । ३००–५०० शैयाको अस्पताल निर्माण योजना समेत जग्गाको अभावमा अलपत्र परेको जनाउँदै डा.पुकारले भक्तपुरको सल्लाघारी, इँटा टायल कारखाना वा चाँगुनारायण ८ सुडाल स्थित जग्गा मध्ये कुनै एक स्थानमा सुविधा सम्पन्न अस्पताल निर्माणका लागि सरकार सग माग गरे
नेपालमा दैनिक ४–६ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने र उपत्यकामा वार्षिक करिब १,००० मस्तिष्क मृत्यु हुने अनुमान गरिएको छ । मस्तिष्क मृतकबाट प्राप्त अङ्गले एकै पटक ८ जनासम्मको जीवन बचाउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेषज्ञहरूले जनचेतना अभिवृद्धिको आवश्यकता औंल्याएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई नेपाल सरकारले मस्तिष्क मृत्यु पश्चात अङ्ग प्रत्यारोपण समन्वय इकाइको रूपमा तोकेको छ । इच्छुक व्यक्तिहरूले अनलाइन फारम वा केन्द्रमा आएर अंगदानका लागि नाम दर्ता गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ ।
कलेजो र मिर्गौला प्रत्यारोपणमा संलग्न टोली
डा.पुकार को नेतृत्वमा भएको उक्त दुबै प्रत्यारोपणमा कलेजो तर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जन तथा मृगौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्काको सहभागिता रहेको थियो। एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा र डा. रेखा श्रेष्ठको टोली सहभागी थियो। त्यसैगरी, नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य सहभागी थिए ।
रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ र डा. सुस्मिता घिमिरे संलग्न थिए । ट्रान्सप्लान्ट कोर्डिनेटरका तर्फबाट डा. बादल महर्जन, तारा साध, सरु कोजु र बन्दना खत्रीको सहयोग थियो ।
नर्सिङ निर्देशनमा पुजा कोइराला र नर्सिङ इन्चार्जहरू अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, मीना खर्वुजा र एलिसा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । यस कार्यको व्यवस्थापकीय नेतृत्व फोकल पर्सन गौरव पन्थ र रामचन्द्र पौडेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस