सम्पादकीय
जीवनशैली र संकल्प: उमेर त केवल अंक मात्र, जीवनको कुनै पनि मोडमा नयाँ इतिहास रच्न सकिन्छ
उमेर केवल एउटा संख्या मात्र हो र मानिसलाई कमजोर बनाउने उमेरले नभई अस्वस्थ जीवनशैलीले हो भन्ने बलियो सन्देश विश्वकै सर्वोच्च शिखर माउन्ट एभरेस्टको चुचुरोबाट पुनः प्रवाह भएको छ। कीर्तिमानी आरोहीद्वय कामी रिता शेर्पा र ल्हाक्पा शेर्पाले ५० वर्ष भन्दा माथिको उमेरमा पनि सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरे सँगै नेपाली समाजमा बढ्दै गएको निष्क्रिय जीवनशैली र जनस्वास्थ्यको गम्भीर अवस्थाबारे नयाँ बहस सिर्जना गरिदिएका छन।
गत आइतबार (जेठ ३,२०८३) सगरमाथाको चुचुरोबाट विश्वले फेरि एउटा असाधारण सन्देश प्राप्त गर्यो। ५६ वर्षीय कामी रिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइमा पुर्याए। त्यही दिन ५३ वर्षीया ल्हाक्पा शेर्पाले ११ औँ पटक शिखरमा पुगेर महिला आरोहीतर्फ नयाँ विश्व कीर्तिमान कायम गरिन।
‘एभरेस्ट म्यान’ र ‘माउन्टेन क्विन’ का रूपमा परिचित यी दुई नेपाली आरोहीको उपलब्धि केवल पर्वतारोहणको समाचार होइन, उमेर, स्वास्थ्य, अनुशासन र मानव क्षमताबारे गम्भीर सन्देश दिने घटना पनि हो।
हाम्रो समाजमा ५० वर्ष नाघेपछि मानिसले आफूलाई विस्तारै निष्क्रिय जीवनतर्फ धकेल्न थाल्ने प्रवृत्ति बलियो छ। ‘अब उमेर भयो’, ‘शरीरले साथ दिँदैन’ वा ‘अब आराम गर्ने समय हो’ भन्ने सोच सामान्य मानिन्छ। तर कामी रिता र ल्हाक्पा शेर्पाको उपलब्धिले यो सोचलाई चुनौती दिएको छ। उनीहरूले ५० वर्ष पछिको जीवनलाई पनि सक्रियता, ऊर्जा र उपलब्धिको समय बनाउन सकिन्छ भन्ने प्रमाणित गरेका छन।
सगरमाथा आरोहण संसार कै कठिन शारीरिक र मानसिक चुनौती मध्ये एक हो। अक्सिजनको अभाव, कठोर मौसम, अत्यधिक चिसो र निरन्तर जोखिम बीच सफल आरोहण गर्नु केवल इच्छाशक्तिको विषय होइन। त्यसका लागि वर्षौँ देखिको अनुशासित जीवन, नियमित अभ्यास, सन्तुलित आहार, मानसिक दृढता र शारीरिक फिटनेस आवश्यक हुन्छ। अझ महत्वपूर्ण कुरा, यी दुवै आरोहीले कीर्तिमान बनाउने उद्देश्य भन्दा पनि आफ्नो कामप्रतिको निरन्तरता र प्रतिबद्धतालाई प्राथमिकता दिएका देखिन्छन। कीर्तिमान त्यसको स्वाभाविक परिणाम बनेको हो।
यी घटनाले अहिलेको नेपाली समाजको अर्को यथार्थलाई पनि उजागर गर्छ। नेपालमा नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेका छन। उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मोटोपना र मानसिक तनाव जस्ता समस्या ४० वर्ष पार गरेपछि झन व्यापक देखिन थालेका छन। यसको मुख्य कारण उमेर मात्र होइन, बदलिँदो जीवनशैली हो। शारीरिक श्रमको कमी, दिनभर बसिरहने बानी, अनियमित भोजन, जंक फुड, धूमपान, मदिरा सेवन र निद्राको अभावले मानिसलाई समय अघि नै कमजोर बनाइरहेको छ।
विडम्बना के छ भने प्रविधिले जीवन सजिलो बनाउँदै लगे पनि मानिसलाई कम सक्रिय बनाइरहेको छ। शहरहरूमा बिहान हिँड्ने खुला स्थान सीमित हुँदै गएका छन। धेरै मानिसको दैनिक जीवन मोबाइल, गाडी र कार्यालयको कुर्सीमा सीमित हुन थालेको छ। यस्तो अवस्थामा ५० वर्षपछि स्वास्थ्य बिग्रिनु स्वाभाविक जस्तै बनाइएको छ। तर कामी रिता र ल्हाक्पाको उदाहरणले देखाउँछ कि शरीरलाई सक्रिय राख्ने निर्णय अन्ततः व्यक्तिगत जीवनशैली सँग जोडिएको विषय हो।
स्वास्थ्य केवल रोग नलाग्नु मात्र होइन। सक्रिय, आत्मनिर्भर र मानसिक रूपमा सन्तुलित जीवन जिउन सक्नु पनि स्वास्थ्यकै हिस्सा हो। उमेर बढ्दै जाँदा शरीरलाई अझ बढी हेरचाह, नियमित स्वास्थ्य परीक्षण, पौष्टिक भोजन र शारीरिक गतिविधिको आवश्यकता पर्छ। विश्व स्वास्थ्य संगठनले हप्तामा कम्तीमा १५० मिनेट मध्यम शारीरिक गतिविधि गर्न सुझाव दिएको छ। तर धेरै मानिस सामान्य हिँडडुल समेत नगर्ने अवस्थामा पुगेका छन।
यी दुई आरोहीको सफलताले मानसिक स्वास्थ्यको महत्त्व पनि सम्झाउँछ। दीर्घकालीन लक्ष्य, आत्मअनुशासन, सकारात्मक सोच र निरन्तर सक्रियता मानसिक सुदृढतासँग प्रत्यक्ष सम्बन्धित छन।
उमेर बढ्दै जाँदा धेरै मानिस एक्लोपन, निराशा र आत्मविश्वासको कमीबाट गुज्रिने गर्छन। यस्तो अवस्थामा सक्रिय जीवनशैलीले शरीरसँगै मनलाई पनि स्वस्थ राख्न मद्दत गर्छ।
राज्यको भूमिकातर्फ पनि ध्यान दिन आवश्यक छ। नेपाल वृद्ध समाजतर्फ उन्मुख हुँदैछ। औसत आयु बढिरहेको छ, तर स्वस्थ आयु कति बढिरहेको छ भन्ने प्रश्न अझै गम्भीर छ। स्वास्थ्य नीति केवल अस्पताल र उपचारमा सीमित हुनु हुँदैन। सार्वजनिक व्यायामस्थल, हिँड्ने वातावरण, स्वास्थ्य शिक्षा, नियमित परीक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्छ। स्वस्थ नागरिक उत्पादन गर्नु कुनै पनि राज्यको दीर्घकालीन लगानी हो।
हामी सबैले सगरमाथा चढ्नुपर्छ भन्ने छैन। तर आफ्नो जीवनका चुनौतीहरू सामना गर्न शरीर र मनलाई सक्षम बनाइराख्न आवश्यक छ। कामी रिता र ल्हाक्पा शेर्पाको कीर्तिमानले एउटा स्पष्ट सन्देश दिएको छ : उमेरले मानिसलाई कमजोर बनाउँदैन, अस्वस्थ जीवनशैलीले बनाउँछ। सही अनुशासन, सक्रियता र स्वास्थ्य प्रति सचेतता भए ५० वर्षपछिको जीवन पनि उपलब्धि, ऊर्जा र प्रेरणाले भरिन सक्छ।

प्रतिक्रिया दिनुहोस