डब्ल्यूएचओको चेतावनी: वित्तीय कटौतीका कारण क्षयरोग विरुद्धको प्रगति जोखिममा

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर वित्तीय अभाव, विशेष गरी अमेरिकी कटौतीका कारण, क्षयरोग (टीबी) विरुद्धको दशकौंको प्रगति खतरामा परेको चेतावनी दिएको छ। टीबी आज पनि विश्वकै सबैभन्दा घातक संक्रामक रोग बनेको छ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले बुधबार जारी गरेको रिपोर्ट अनुसार, रोकथाम, परीक्षण र उपचार सेवा कमजोर हुँदै गएकाले लाखौं मानिस उच्च जोखिममा छन्।
अफ्रिका, दक्षिण-पूर्वी एशिया र पश्चिमी प्रशान्त क्षेत्र यसबाट सबैभन्दा बढी प्रभावित छन्, किन भने यी क्षेत्रका राष्ट्रिय टीबी कार्यक्रमहरू मुख्य रूपमा अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छन्।
डब्ल्यूएचओको ग्लोबल टीबी तथा श्वास प्रश्वास सम्बन्धी स्वास्थ्य कार्यक्रमकी निर्देशक तरेज़ा कसाएवाले भनिन -‘टीबी सेवामा कुनै पनि प्रकारको वित्तीय, राजनीतिक वा परिचालन सम्बन्धी अवरोधले विश्व भरका लाखौं मानिसका लागि विनाशकारी र प्राणघातक परिणाम निम्त्याउन सक्छ।’
स्वास्थ्य सहायता कटौती प्रति यूएन प्रमुखको चिन्ता
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि स्वास्थ्य कार्यक्रमहरू माथिको वित्तीय कटौती प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले एचआईभी/एड्स, क्षयरोग, औलो र हैजा जस्ता रोगहरूमा प्रत्यक्ष असर पर्ने खतरा रहेको बताएका थिए।
वित्तीय संकटको गम्भीर प्रभाव
पछिल्ला दुई दशकमा टीबी विरुद्धका विश्व व्यापी कार्यक्रमहरूबाट ७.९ करोड भन्दा बढी मानिसको जीवन बचाइएको छ। मात्र गत वर्षमै ३६.५ लाख मानिसलाई टीबीका कारण मृत्युको मुखबाट जोगाइएको थियो।
यस सफलतामा अमेरिकी सरकारको वित्तीय सहयोग महत्वपूर्ण रहँदै आएको थियो। अमेरिका प्रत्येक वर्ष करिब २० देखि २५ करोड अमेरिकी डलर सहयोग गर्दै आएको छ, जुन कुल अन्तर्राष्ट्रिय वित्तीय सहायता रकमको करिब एक चौथाइ हिस्सा हो ।
तर, अमेरिका सरकारको नयाँ नीति अनुसार, २०२५ मा घोषणा गरिएका नयाँ वित्तीय कटौतीका कारण कम्तीमा १८ वटा उच्च जोखिम भएका देशहरूमा टीबी रोकथाम र उपचारमा गम्भीर असर पर्ने सम्भावना छ ।
सबैभन्दा ठूलो असर अफ्रिकामा
अमेरिकाबाट प्राप्त हुने कुल सहयोग मध्ये ८९ प्रतिशत रकम प्रत्यक्ष रूपमा टीबी संक्रमित बिरामीहरूको उपचारमा प्रयोग हुँदै आएको थियो।
अबको वित्तीय अभावले विशेष गरी अफ्रिकामा उपचार सेवामा अवरोध ल्याउने, स्वास्थ्यकर्मी हटाइन सक्ने र अन्ततः संक्रमण दर उच्च हुन सक्ने रिपोर्टले देखाएको छ।
विभिन्न देशका प्रारम्भिक रिपोर्टहरूले स्वास्थ्य सेवा कमजोर हुँदै गएको, स्वास्थ्यकर्मीहरू जागिरबाट हटाइने खतरा रहेको, औषधिको अभाव बढ्दै गएको, आपूर्ति प्रणाली प्रभावित भएको र टीबी अनुसन्धान तथा निगरानी प्रणाली संकटमा परेको संकेत गरेका छन् ।
डब्ल्यूएचओको अपील: तत्काल कदम चाल्न आवश्यक
डब्ल्यूएचओकी वरिष्ठ अधिकारी डा. तरेज़ा कसाएवाले भनेकी छिन, ‘यदि तुरुन्तै प्रभावकारी कदम चालिएन भने, टीबी विरुद्ध दशक मै प्राप्त प्रगति गुम्नेछ।’ ।
डब्ल्यूएचओले टीबी विरुद्धको लडाइँमा सरकारहरू र अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा पूर्ण प्रतिबद्धता दोहोर्याउँदै, दिगो वित्तीय स्रोत तथा एकीकृत समाधान आवश्यक रहेको बताएको छ।
एजेन्सीले जोड दिँदै भनेको छ, ‘डब्ल्यूएचओ चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय सरकार, नागरिक समाज र विश्व व्यापी साझेदारहरू सँग मिलेर काम गर्न प्रतिबद्ध छ, ताकि सबै भन्दा जोखिममा परेका मानिसहरूको स्वास्थ्य र कल्याणको रक्षा गर्न सकियोस्।’
प्रतिक्रिया दिनुहोस