अनुसन्धान
कोरोना सङ्क्रमणबाट मुक्त भएका बिरामीमा अझै पनि मृत्युको खतरा

एक नयाँ अध्ययन अनुसार, कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना हुनु परेका बिरामीहरूलाई निको भए पनि अढाई (साढे दुई) वर्ष सम्म मृत्यु तथा गम्भीर स्वास्थ्य समस्याको उच्च जोखिम रहन्छ । यो अध्ययन ‘इन्फेक्सियस डिजिज’ जर्नलमा प्रकाशित भएको छ ।
कोरोना भाइरसलाई पराजित गरी अस्पतालबाट घर फर्कने हरू र निजका आफन्तका लागि यो अध्ययन धेरै महत्वपूर्ण छ । फ्रान्सका ६३,९९० मानिस माथि गरिएको यो अनुसन्धानले देखाएको छ कि अस्पताल भर्ना भएका कोरोना संक्रमितहरू निको भएको लामो समय पछि पनि गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहन्छन् ।
स्वास्थ्य निगरानीको आवश्यकता
अनुसन्धान कर्ताहरूले चेतावनी दिएका छन् कि कोरोना सङ्क्रमणबाट मुक्त भएका बिरामीहरूलाई लामो समय सम्म स्वास्थ्य निगरानी तथा उचित हेरचाहको आवश्यकता पर्छ ।
पेरिसको बिचाट अस्पतालकी सङ्क्रामक रोग विशेषज्ञ तथा प्रमुख अनुसन्धान कर्ता डा. सारा टुबियानाका अनुसार, ‘यो अनुसन्धानले देखाउँछ कि कोभिड को प्रभाव प्रारम्भिक सङ्क्रमण भन्दा धेरै पर सम्म पुग्छ । हाम्रो अध्ययनले देखाएको छ कि अस्पताल भर्ना भएका बिरामीहरू महिनौँ वा वर्षौ पछि पनि गम्भीर स्वास्थ्य समस्याहरूको सामना गर्न बाध्य हुन सक्छन् ।’
६३,९९० व्यक्तिमाथि अध्ययन
यो अध्ययन जनवरी देखि अगस्त २०२० को बीचमा अस्पतालमा भर्ना भएका ६३,९९० वयस्कहरू मा गरिएको थियो । तिनिहरूको औसत उमेर ६५ वर्ष थियो । जसमा ५३.१ प्रतिशत पुरुष थिए ।
अध्ययनका लागि समान उमेर, लिङ्ग तथा स्थान भएका ३,१९,८९१ व्यक्तिहरू सँग तुलना गरिएको थियो, जो कोभिडका कारण अस्पताल भर्ना भएका थिएनन् । नतिजाले देखाएको छ कि कोभिडबाट मुक्त भएका बिरामीहरूको मृत्यु दर (प्रति एक लाख व्यक्ति वर्षमा ५,२१८) सामान्य जनसङ्ख्या (प्रति एक लाख व्यक्ति वर्षमा ४,०१३) भन्दा धेरै उच्च थियो ।
कोरोना निको भएपछि देखिएका समस्या
अनुसन्धानमा यो पनि पत्ता लाग्यो कि ती बिरामीहरूलाई पुनः अस्पताल भर्ना हुनुपर्ने सम्भावना धेरै थियो । तिनमा स्नायविक (न्युरोलजिकल), मानसिक, मुटु तथा श्वास प्रश्वास सम्बन्धी समस्याहरू देखिन्थे । पुरुष तथा महिलामा यी समस्या लगभग समान रूपमा देखिए पनि मानसिक समस्याको जोखिम महिलामा बढी पाइयो ।
७० वर्ष भन्दा माथिका व्यक्तिहरूमा अङ्ग सँग सम्बन्धित गम्भीर रोगहरू देखिने सम्भावना अत्यधिक थियो । अस्पतालबाट डिसचार्ज भएपछि ३० महिना सम्म न्युरोलजिकल, श्वास प्रश्वास, मृगौला फेल हुने तथा मधुमेह जस्ता समस्याहरू देखिने सम्भावना रहन्छ ।
विशेषज्ञहरूको धारणा
अनुसन्धानका सह लेखक डा. चार्ल्स बर्डेटका अनुसार, ‘यो अध्ययनले कोभिड का दीर्घकालीन प्रभावहरूलाई बुझ्नका लागि थप अनुसन्धान आवश्यक रहेको देखाउँछ । साथै स्वास्थ्य सेवाका लागि यो चुनौती पूर्ण छ र बिरामीहरूको दीर्घकालीन हेरचाहका नया विधिहरू अपनाउनु पर्ने देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस