आर्थिक संकट र अनुसन्धानमा कमीले विश्वव्यापी टीबी नियन्त्रण संकटमा
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२५ ले विश्वव्यापी क्षयरोग (टीबी) नियन्त्रणमा हासिल उपलब्धि गुम्ने गम्भीर जोखिम देखाएको छ। जसको मुख्य कारण: लगातार बढ्दै गएको आर्थिक अभाव र अनुसन्धानमा लगानीको कमी हो।
रिपोर्टका अनुसार, टीबीका कारण गत वर्ष मात्रै १२ लाख भन्दा बढी मानिसले ज्यान गुमाए र करिब १ करोड ७ लाख संक्रमित भएका थिए। परीक्षण र उपचारमा केही सुधार देखिए पनि विश्वव्यापी लगानी स्थिर रहँदा ‘टीबी नियन्त्रणको गति कमजोर हुँदै गएको’ चेतावनी डब्ल्यूएचओले दिएको छ।
आर्थिक स्रोत लक्ष्यको चौथाइ मात्र
सन् २०२४ मा टीबी रोकथाम, परीक्षण र उपचारका लागि विश्व भर जम्मा ५.९ अर्ब अमेरिकी डलर मात्रै उपलब्ध थियो। यो रकम सन् २०२७ का लागि तय गरिएको २२ अर्ब डलर लक्ष्यको केवल चौथाइ हो।
डब्ल्यूएचओका अनुसार, सन २०२५ पछि अन्तर्राष्ट्रिय सहयोगमा कटौती भएमा आगामी दशकमा २० लाख थप मृत्यु र १ करोड नयाँ संक्रमितको जोखिम बढ्ने सम्भावना छ
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम गेब्रेयससले भने, ‘टीबी रोकथाम र उपचारमा हासिल प्रगति सन्तोषजनक भए पनि पर्याप्त स्रोत नहुँदा हामीले हासिल गरेको उपलब्धि उल्टिन सक्छ। रोकथाम र उपचार दुवैका लागि स्थायी वित्तीय लगानी अपरिहार्य छ।’
अनुसन्धानमा पनि अपुग लगानी
टीबी विरुद्धको लडाइँमा अर्को चुनौती अनुसन्धानमा भइरहेको सुस्त गति हो। सन् २०२३ मा टीबी अनुसन्धानका लागि १.२ अर्ब अमेरिकी डलर मात्रै खर्च गरिएको थियो, जुन निर्धारित लक्ष्यको २४ प्रतिशत मात्र हो।
हाल विश्व भर ६३ नयाँ परीक्षण प्रविधि र २९ औषधि क्लिनिकल ट्रायलमा छन, साथै १८ वटा सम्भावित खोप परीक्षणको चरणमा पुगेका छन। तर अनुसन्धानमा आवश्यक लगानी नपुग्दा यी प्रयासलाई दिगो रूपमा अगाडि बढाउन कठिनाइ भइ रहेको डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओका टीबी विभाग प्रमुख डा. टेरेजा कसाएभाले भनिन, ‘हामी निर्णायक मोडमा छौं। आर्थिक कटौती र अनुसन्धानमा कमीले दशकौंको मेहनत जोखिममा पार्दैछ। यस अवस्थाबाट बाहिर निस्कन राजनीतिक संकल्प, घरेलु लगानी र विश्वव्यापी सहकार्य अत्यावश्यक छ।’
दीगो लगानी र सहकार्यको आह्वान
रिपोर्टमा भनिएको छ, विश्वका ३० देशमा मात्रै ८७ प्रतिशत संक्रमित केन्द्रित छन, जसमा भारत, इन्डोनेसिया चीन र पाकिस्तान प्रमुख हुन। यी मुलुकहरूमा पर्याप्त स्रोत र अनुसन्धान विस्तार नगरे टीबी अन्त्य गर्ने २०३० को लक्ष्य सम्भव नहुने चेतावनी डब्ल्यूएचओले दिएको छ।
डब्ल्यूएचओले सबै देशहरूलाई घरेलु बजेटमा टीबी नियन्त्रणलाई प्राथमिकता दिन, अनुसन्धानमा लगानी बढाउन र अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउन आग्रह गरेको छ।
‘हामीसँग समाधान छ, तर स्रोत र संकल्प दुवै अपर्याप्त छन,’ रिपोर्टमा भनिएको छ, ‘यदि अहिले ठोस कदम चालिएन भने टीबी विरुद्धको लडाइँ दशकौं पछाडि धकेलिन सक्छ।’

प्रतिक्रिया दिनुहोस