सन् २०२५ मा नेपाल सहित ३१ देशमा हैजाको प्रकोप, डब्ल्यूएचओ द्वारा जोखिमलाई ‘अत्यन्त उच्च’ आकलन


काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२५ को सुरुवात देखि हाल सम्म नेपाल सहित ३१ देशमा हैजाको प्रकोप देखिएको र यस रोगबाट हुने विश्वव्यापी जोखिमलाई ‘अत्यन्तै उच्च’ भनेको छ।

डब्लुएचओले निगरानी, उपचार, पूर्व सावधानी, आवश्यक औषधि आपूर्ति, साझेदार सँग सहकार्य र समुदाय सँग सूचना सञ्चार मार्फत हैजाको मृत्यु दर घटाउने एवं प्रकोप नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाएको छ।

डब्ल्यूएचओले सार्वजनिक गरेको सन् २०२४ को तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा हैजाका बिरामी ५ प्रतिशतले र मृतक संख्या ५० प्रतिशतले बढेको छ। २०२४ मा मात्र ६ हजार भन्दा बढी मानिस हैजाका कारण ज्यान गुमाए, जुन रोग समय  मै उपचार र पूर्व सावधानी अपनाएमा रोकथाम गर्न सकिन्छ।

हैजा अझै फैलिँदै

सन् २०२४ मा ६० देशले हैजाका घटना रिपोर्ट गरेका थिए, जुन २०२३ को ४५ भन्दा धेरै हो। अफ्रिका, मध्य पूर्व र एशियामा मात्रै ९८ प्रतिशत केस देखिएका थिए। कम्तिमा १२ देशले १० हजार भन्दा बढी संक्रमित रिपोर्ट गरेका थिए, जसमा सात देशमा पहिलो पटक ठूलो प्रकोप भएको हो।

कारण र चुनौती

संघर्ष, जलवायु परिवर्तन, जनसङ्ख्या विस्थापन, पानी सरसफाइ र स्वच्छतामा दीर्घकालीन कमजोरी ले रोग फैलन सहज बनाएको डब्ल्यूएचओले जनाएको छ। अफ्रिकामा हैजाको मृत्यु दर १.४ प्रतिशतबाट बढेर १.९ प्रतिशत पुगेको छ, जसले उपचारमा गम्भीर चुनौती र स्वास्थ्य प्रणालीको नाजुकता देखाउँछ। चौथाई जना बिरामी अस्पताल बाहिर मै ज्यान गुमाएका छन्।

खोप आपूर्ति अपुग

सन २०२४ को सुरुवातमा नयाँ खोप ‘युभिचोल-एस’ (Euvichol-S) अनुमोदन भई आपत्कालीन भण्डारमा थपिए पनि अत्यधिक मागका कारण दुई डोजलाई अस्थायी रूपमा एक डोजमै सीमित गरिएको छ। ६ करोड १० लाख  डोजको माग भए पनि ४ करोड मात्रा मात्र स्वीकृत भएको छ।

डब्ल्यूएचओको कदम

डब्ल्यूएचओले निगरानी, उपचार, खोप आपूर्ति, आवश्यक औषधि, समुदाय स्तरमा जानकारी आदिबाट मृत्यु दर घटाउन र प्रकोप नियन्त्रण गर्न विश्वभर काम गरिरहेको जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!