भारतमा बढ्दो कोरोना, नेपालमा तनाव, सावधानी अपनाउँ है


काठमाडौँ – भारतमा पछिल्लो केही साता देखि कोभिड- १९ को संक्रमणमा भएको वृद्धिले नेपालका स्वास्थ्य अधिकारीहरू तनावमा छन्।

उनीहरू विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) नेपालका पदाधिकारीहरूसँग बैठक गरिरहेका छन् भने स्वास्थ्य मन्त्री प्रदिप पौडेल लाई यस बारे दैनिक अपडेट समेत गर्दैछन् ।

कारण एउटै छ, पछिल्लो अनुभवहरूले स्पष्ट रुपमा देखाएको छ कि भारतमा कोरोना संक्रमण देखिएको एक देखि दुई साता पछि नेपालमा समेत त्यस्तै प्रकृतिका सङ्क्रमण देखिने गरेको छ।

चीन र एसियाका केही खण्डमा कोभिड संक्रमणमा उछाल आए पछि सङ्क्रमण छिमेकी मुलुक भारतमा पनि उल्लेख्य रूपमा बढ्न थालेको हो।

‘हो भारतमा कोभिड देखिए पछि हाल हामी एलर्ट को  अवस्थामा छौँ’, इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. चन्दभाल झा भन्छन -‘भारतमा कोभिड देखिएको तीन चार साता सम्म मा  संक्रमण हामी कहाँ पनि आइपुग्ने गरेको छ ।’

इपिडेमियोलोजीले डब्लुएचओ सँग भारतमा संक्रमणको बढ्दो स्थिति र नेपालमा देखिन सक्ने सम्भावित संक्रमण बारे बैठकहरूहरु पनि गरेको छ । र केही किट नाकाहरूमा पठाउन आग्रह गरेका छन्। यस्तै एयरपोर्टमा सक्रिय निगरानी सँगै समस्त स्वास्थ्य निगरानी संरचनालाई एलर्ट अवस्थामा राखिएको छ।

‘हामी कोभिड परीक्षण बढाइरहेका छौं,  सिक्वेन्सिङ समेत आवश्यक देखिएको छ’, डा. झा भन्छन् -‘आम नागरिकले समेत यस बारेमा सतर्कता अपनाउनु आवश्यक छ। भिडभाड, सार्वजनिक यातायात आदिमा सामान्य मास्कको प्रयोग र साबुनपानीले बारम्बार हात धुने जस्ता सुरक्षाका उपाय अपनाउनु अहिले पनि उत्तिकै आवश्यक छ।’

इपिडेमियोलोजी प्रमुख डा. झाले सार्वजनिक यातायात र भिडभाडमा मास्क उपयोग गर्ने सुझाव दिएकै समय कोभिड का घटनाहरूको संख्यामा फेरि वृद्धि भएको देखेर, छिमेकी राष्ट्र भारतको आन्ध्र प्रदेश राज्यको सरकारले नयाँ सावधानी निर्देशनहरू समेत जारी गरेको छ। आन्ध्र प्रदेशको राज्य स्वास्थ्य, चिकित्सा शिक्षा तथा परिवार कल्याण विभागले जनतालाई भीडभाड हुने ठाउँहरूमा मास्क लगाउन अनिवार्य गर्न र सतर्क रहन अपील गरेको छ।

भारतमा पछिल्ला केही साता देखि कोविडका घटनाहरू बढ्दै गएर जनमानसमा चिन्ता थपे कै बेला ‘इन्डियन सार्स – कोभ -२  जीनोमिक्स कन्सोर्टियम’ले दुई नयाँ भेरियन्ट, एनबी.१.८.१ र एलएफ.७  को पहिचान गरेको छ। एलएफ.७ र एनबी.१.८.१ ओमिक्रोनको जेएन.१ भेरियन्टबाटै निस्केको हो।

जेएन.१ भेरिएन्ट नेपालमा २०८० सालको पुस महिनामा देखि सकिएको छ। त्यस ताका स्वास्थ्य अधिकारीहरूले नेपाल हेल्थ प्रेस लाई जेएन.१ भेरिएन्ट देशव्यापी नै भइ सकेको बताएका थिए।

कन्सोर्टियमको अनुसार एनबी.१.८.१ को एउटा केस अप्रिल महिनामा तमिलनाडुमा भेटिएको थियो भने  एलएफ.७  भेरियन्टका चार वटा केसहरू मे महिनामा पत्ता लागेका थिए। स्मरण रहोस् डब्लुएचओले यो दुबै भेरिएन्टलाई चासोका नभइ निगरानी अन्तर्गत राखेको  छ।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु का निर्देशक डा.रञ्जनराज भट्ट मुलुकमा सन् २०२४ को अक्टोबर देखि इन्फ्लुएन्जा सर्भिलेन्समा कोभिड खासै नदेखिएको बताउँछन्। सन् २०२५ मा हालसम्म एउटा मात्र केस देखिएको छ। तर डा.भट्ट भारतमा कोभिड देखिएको एक देखि दुई साता पछि नेपालमा समेत देखिन थाल्ने पूर्व अनुभव औल्याउँदै सतर्कता आवश्यक रहेको बताउँछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २६ सेप्टेम्बर सन २०२४ मा देशका विभिन्न उमेर समूह र जिल्लाहरूको प्रतिनिधित्व गर्ने ३० वटा कोभिड  पोजेटिभ नमूनाहरूको जीनोमिक सिक्वेन्सिङ गरेको थियो ।  जीनोमिक सिक्वेन्सिङले सबै ३० नमूनाहरूमा ओमिक्रोन भेरियन्ट पत्ता लगायो । जसमा ७ नमूनाहरूमा ओमिक्रोन ( केपी.१), ८ नमूनाहरूमा ओमिक्रोन ( केपी.२), ५ नमूनाहरूमा ओमिक्रोन ( केपी.३), १ नमूनामा ओमिक्रोन (केपी.५) र ९ नमूनाहरूमा ओमिक्रोन ( एलबी.१.३)  थिए।

उता भारतको बेंगलुरुमा कोविडका कारण एक ८४ वर्षीय वृद्धको मृत्यु पनि भएको छ। ‘नेपाल हेल्थ प्रेस डटकम’ दिल्ली ब्युरोको अनुसार ती बिरामी पहिले देखि नै दीर्घरोगी थिए र १७ मे (२०२५) मा कोरोना पोजेटिभ देखिएका थिए। उपचारको क्रममा व्हाइट फिल्ड को एस्टर  अस्पतालमा उनको निधन भएको हो। यस्तै बेंगलुरुमा ९ महिनाको एक शिशु पनि संक्रमित भेटिएको छ। उनलाई अस्पतालमा भर्ना गरिएको छ।

भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको अध्यावधिक जानकारी अनुसार त्यहाँ आइतबार सम्ममा कोभिड संक्रमितको सङ्ख्या १००९ नाघिसकेको छ । केरला पछि दिल्ली र महाराष्ट्र राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्टको कहर देखिएको छ। भारतका धेरै राज्यहरूमा कोभिड द्रुत गतिमा बढिरहेको छ

भारतका चिकित्सकहरूको अनुसार हाल सम्म त्यहाँ संक्रमित व्यक्तिहरूमा देखिने लक्षणहरू सामान्य र हल्का देखिएका छन्। स्वाद र गन्ध हराउने समस्या अहिले देखिएको छैन।

कोविड का नयाँ भेरियन्टहरू माथि निगरानी जारी छ। भारतमा संक्रमितको संख्या केही हद सम्म बढ्दो क्रममा भए पनि, लक्षणहरू सामान्य देखिएका छन्। यसैले सतर्क रहनुहोस्, स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउनुहोस र आवश्यक परे परीक्षण गराउनु होस्।

एनबी.१.८.१ भेरियन्टका लक्षणहरू

डब्लुएचओको अनुसार  हाल यो भेरिएन्टबाट विश्वमा गम्भीर स्वास्थ्य जोखिम छैन। यसलाई ‘भेरिएन्ट अन्डर मनिटरिङ’ अन्तर्गत राखिएको छ ।  यसमा केही सामान्य लक्षणहरू देखिएका छन्

  • घाँटी दुख्ने
  • थकान महसुस हुने
  • सामान्य खोकी
  • ज्वरो
  • मांसपेशी दुख्ने
  • नाक बन्द हुने
  • हल्का ज्वरो
  • टाउको दुखाइ
  • वाकवाकी लाग्ने
  • पेटको समस्या

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!