खटिरा – डन्डीफोर, सूजन र बुढ्यौलीका असर कम गर्न बेसार प्रभावकारी, छालामा प्राकृतिक चमक ल्याउने


काठमाडौँ-आयुर्वेदिक उपचार पद्धतिमा बेसारलाई औषधीय गुणयुक्त प्राकृतिक पदार्थका रूपमा लिइन्छ। भान्सामा मसालाका रूपमा प्रयोग हुँदै आएको बेसार छालाको स्वास्थ्यका लागि पनि प्रभावकारी मानिन्छ।

विशेष गरी चिसो मौसम र बढ्दो प्रदूषणका कारण छालामा देखिने समस्या नियन्त्रण गर्न बेसार उपयोगी हुने विशेषज्ञहरू बताउँछन्। यसले छालाको बाहिरी सौन्दर्य मात्र होइन, भित्री स्वास्थ्य सुधारमा समेत सहयोग पुर्‍याउने उल्लेख छ।

वैज्ञानिक अध्ययन अनुसार बेसारमा ‘कर्क्युमिन’ नामक सक्रिय तत्व पाइन्छ। यही तत्वका कारण बेसारमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटरी गुण हुन्छन्। यी गुणले छालामा हुने संक्रमण, सूजन र फोहोर जम्ने समस्या कम गर्न मद्दत गर्छन्।

नियमित रूपमा बेसारको प्रयोग गर्दा छालाको प्राकृतिक चमक बढ्ने र मृत कोषिका हट्न सहयोग पुग्ने आयुर्वेदिक मान्यता छ। फेस प्याक वा लेपमा बेसार मिसाएर प्रयोग गर्दा छाला मुलायम र ताजा देखिने बताइन्छ।

बेसारका एन्टिब्याक्टेरियल गुणले खटिरा–डन्डीफोर र ब्ल्याकहेड्स निम्त्याउने जीवाणुसँग लड्न सहयोग गर्छन्। दही वा कागतीसँग मिसाएर बनाइएको बेसारको लेपले दाग धब्बा घटाउन मद्दत गर्ने उल्लेख छ। यस्तै, एलर्जी वा प्रदूषणका कारण छाला रातो र सुन्निएको अवस्थामा बेसारको प्रयोगले सूजन कम गर्न सक्ने बताइन्छ।

एन्टिअक्सिडेन्टले भरिपूर्ण बेसारले छालालाई समय अगावै बुढो हुनबाट जोगाउन भूमिका खेल्छ। फ्रि रेडिकल्सका कारण देखिने चाउरी र कालो दागको जोखिम कम गर्न बेसार उपयोगी हुने अध्ययनहरूमा उल्लेख छ।

छाला बाहेक बेसार समग्र स्वास्थ्यका लागि पनि लाभदायी मानिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने र मुटु स्वास्थ्यमा सहयोग पुर्‍याउने गुण यसमा रहेको बताइन्छ। आयुर्वेदमा घाउ निको पार्न र संक्रमण नियन्त्रणका लागि पनि बेसारको प्रयोग हुँदै आएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!