स्वास्थ्य र सौन्दर्यवर्धक अङगुर


अङगुर बलवर्द्धक र सौन्दर्य बढाउने फल हो । फलमा सर्वोत्तम मानिएको अङगुर लाई आमाको दूध जस्तै पोषक मानिन्छ । यो निर्बल, सबल, स्वस्थ अस्वस्थ आदि सबैको लागि समान रूपले उपयोगी छ । धेरै जसो रोग, जसमा रोगीलाई कुनै पदार्थ दिइदैन त्यसमा समेत अङगुरको फल दिन सकिन्छ । अंगुर वीर्यवर्धक, रगत सफागर्ने, रक्त वृद्घि गर्ने फल मानिन्छ ।

अङगुरमा पानी, चिनी, सोडियम, पोटासियम, साईट्रिक एसिड, फ्लोराइड, पोटासियम सल्फेट, मैग्नेसियम र फलाम तत्व पुर्न मात्रामा हुन्छ । प्रत्येक एक सय ग्राम अङगुरमा करिव ८५ दशमलव ५ ग्राम पानी, १०.२ ग्राम कार्बोहाइड्रेट, ०.८ ग्राम प्रोटिन, ०.१ ग्राम बोसो, ०.०३ ग्राम क्याल्सियम, ०.०२ ग्राम फस्फोरस, ०.४ मिलिग्राम फलाम, ५० मिलिग्राम भिटामिन ‘बी’, १० मिलिग्राम भिटामिन ‘सि’, ८.४ मिलिग्राम भिटामिन ‘पी’, १५ युनिट भिटामिन ‘ए’, एक सय देखी ६ सय मिलिग्राम सम्म ‘टैनिन’ र ०.४१ –०.७२ ग्राम टार्टरिक अम्ल पाइन्छ ।

यस बाहेक सोडियम, क्लोराइड, पोटासियम क्लोराइड, पोटासियम सल्फेट, म्याग्नेसियम तथा एल्युमिन जस्तो महत्वपूर्ण तत्व समेत धेरै मात्रामा हुन्छन । अङगुरमा पाइने चिनी पूर्ण रूपले ‘ग्लुकोजले बनेको हुन्छ । जो केही किसिमका अङगुरमा १२ प्रतिशत भने केहीमा ५० प्रतिशत सम्म पाइन्छ । यो चिनी शरीरमा पुगेर तुरुन्त शक्ति प्रदान गर्छ ।

अङगुरको सेवन थकान हटाउँछ र शरीरलाई चुस्त फुर्तिलो बनाउँछ । आयुर्वेद अनुसार अंगुर मुटुको दुर्बलता हटाउन धेरै गुणकारी छ । मुटुरोगीलाई नियमित रूपले अंगुर फाइदाकारी मानिएको छ । यस्तै यसको उपयोगले फोक्सोमा जमेको कफ बाहिर निस्किन्छ र खोकीमा आराम मिल्छ । यो स्वास र वायु रोगमा समेत लाभकारी मानिन्छ । यसको सेवनले भोक बढाउँछ, पाचन प्रणाली ठिक राख्छ, आँखा, कपाल र छालालाई चम्किलो बनाउँछ ।

हृदयघातबाट बाच्न बैजनी(कालो) अङगुरको रस ‘एस्प्रिन’को चक्की समान प्रभावकारी मानिन्छ । एस्प्रिन रगतलाई जम्न दिदैँन र बैजनी(कालो) रंगको अङगुरको रसमा ‘फ्लोवोनाईडस’ नाउ गरेको तत्व हुन्छ र यसले पनि रगत जम्न दिदैँन । शरीरमा ‘पोटेसियम’को कमीले कपाल झर्छ, पातलो हुन्छ । दाँत हल्लिन थाल्छ, छाला खुकुलो र निस्तेज हुन्छ, जोर्नी दुख्छ, यी सबै रोगबाट अङगुर टाढा राख्ने गरेको छ ।

बेलायती अनुसन्धानकर्ताहरूको अनुसार कालो अङगुरमा पाइने फ्लैवोनायडसको प्रत्यक्ष सम्बन्ध तन्त्रिका कोषिकासँग हुन्छ । यसको मध्य हुने संवाद मस्तिष्क कोषिकाको पुनरुत्पादनमा बढावा दिन्छ । अनुसन्धानकर्ताहरूको अनुसार यसले अल्पकालीन एवं दीर्घकालीन सम्झना लाई सुधार गर्न सहयोग मिल्छ । यो अध्ययनको सहयोगले भविष्यमा सम्झना हराउने रोग (अल्जाईमर)को उपचार खोज्न सकिन्छ ।

यस्तै एउटा अध्ययन अनुसार भोजनमा अङगुरलाई नियमित रुपमा सामेल गर्दा ठुलो आन्द्रामा हुने क्यान्सर को खतरा कम गर्न सकिन्छ । यो क्यान्सरको तेश्रो प्रकार हो । यसले वर्षेनी विश्वमा पाँच लाख भन्दा बढीको मृत्यु हुन्छ । अङगुरमा क्षारीय तत्व बढाउने राम्रो क्षमताले गर्दा शरीरमा ‘युरिक एसिड’ को बृद्घि, मोटोपना, जोर्नीको दुखाई, रगत जम्नु, दम, नशाको समस्या आदि स्थितिमा यसको सेवन लाभकारी मानिन्छ ।

आयुर्वेदको अनुसार पाकेको अङगुरको रस ‘माईग्रेन’को घरेलु उपचार मानिन्छ । यस्तै अङगुरमा ‘अल्ब्युमिन’ र ‘सोडियम क्लोराईड’ को मात्रा कम भएकोले यो मृगौला रोगमा समेत लाभकारी मानिन्छ । अङगुरले मृगौला र कलेजोवाट पानी र विषालु पदार्थ बाहिर निकाल्छ । यसले कब्जियत समेत नास गर्छ भने दम र ‘अस्थमा’ जस्तो रोगमा समेत लाभकारी मानिन्छ । अङगुरमा चिनीको मात्रा ग्लुकोजको रुपमा हुन्छ । ग्लुकोज रासायनिक प्रकृयाको नतिजा भएकोले शरीरमा तुरुन्त अवशोषण हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!