गुरु पूर्णिमा विशेष
गुरु–शिष्य सम्बन्ध किन कमजोर हुँदै गयो ? स्वास्थ्य शिक्षामा आत्म मूल्याङ्कनको समय

‘गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वरा .. … ‘ भन्ने संस्कारमा हुर्किएको हाम्रो समाजमा गुरु–शिष्य सम्बन्ध पवित्र र आदर्श मानिन्थ्यो। तर पछिल्ला दुई दशकमा विशेषतः मेडिकल शिक्षामा, यो सम्बन्धमा गम्भीर कमजोरी देखिन थालेको छ।
विद्यार्थीले अब नमस्कार गर्न पनि छाड्न थालेका छन्। किन यस्तो भयो? कसरी सुधार्न सकिन्छ? हामी यस सम्बन्धको ह्रासको कारणहरू, परिणामहरू र सुधारका उपायहरूबारे चर्चा गर्नेछौं।
प्रविधिको प्रहार – शिक्षकको विकल्प होइन
पहिला शिक्षक नै ज्ञानको एकमात्र स्रोत थिए। विद्यार्थीले इसिजी वा कुनै क्लिनिकल सिद्धान्त नबुझे शिक्षक कै शरणमा जान्थे। अहिले भने गुगल, युट्युब, च्याट जीपीटी लगायत प्रविधिको सहज पहुँचले विद्यार्थीलाई ज्ञानको नयाँ माध्यम दिएको छ।
तर प्रश्न उठ्छ, के यी प्रविधिले शिक्षकको स्थान लिन सक्छन ? कदापि होइन। प्रविधिले केवल सूचना दिन्छ, तर अनुभव, सम्वेदनशीलता, व्यावहारिक ज्ञान, निर्णय क्षमता, नैतिकता र प्रेरणा शिक्षकबाट मात्र सिक्न सकिन्छ।
संस्कार र संस्कृतिको ह्रास
पहिले विद्यार्थीहरू बडालाई देख्दा ढोग गर्थे, नमस्कार गर्थे, परम्परागत सम्मान देखाउँथे। आजका विद्यार्थीहरू पश्चिमी सोच, आत्म केन्द्रित प्रवृत्ति र डिजिटल संस्कृतिमा हुर्किएका छन्।
सम्मानको भावना नभएको होइन, तर त्यसलाई व्यक्त गर्ने माध्यम हराउँदै गएको छ। शब्दले होइन, व्यवहारले सम्मान देखाउनुपर्छ भन्ने भावना फेरि जगाउनु आवश्यक छ।
शिक्षा होइन व्यापार! मेडिकल शिक्षामा व्यावसायिक सोच
धेरै विद्यार्थी निजी मेडिकल कलेजमा ठूलो शुल्क तिरेर पढ्न आएका हुन्छन्। यस्ता विद्यार्थीहरूमा ‘हामी ग्राहक हौं’ भन्ने सोच पलाउँछ। शिक्षकलाई ‘सेवा प्रदायक’’ को रूपमा हेर्ने दृष्टिकोणले गुरु–शिष्य सम्बन्धमा गहिरो दरार ल्याएको छ।
शिक्षा भनेको लेनदेनको सम्बन्ध होइन । यो आत्मिक, बौद्धिक र मानवीय सम्बन्ध हो, जुन पारस्परिक सम्मान र समर्पणमा आधारित हुन्छ।
शिक्षकहरू पनि निर्दोष छैनन्
समय सँगै शिक्षकको भूमिकामा पनि परिवर्तन आएको छ। धेरै जसो शिक्षकहरू व्यवस्थापन, प्रशासनिक बोझ र कागजी झन्झटमा अल्झिएका छन्।
कुनै शिक्षकले आफ्नो ज्ञान अद्यावधिक नगरेको अवस्थामा विद्यार्थी स्वाभाविक रूपमा गुगलतिर आकर्षित हुन्छ।
शिक्षकलाई केवल पाठ्यक्रम होइन, प्रविधि, नयां शोध, आधुनिक दृष्टिकोण र विद्यार्थी मनोविज्ञानमा पनि अपडेट हुन जरुरी छ।
संवादको अभाव, दूरी बढाउने अर्को कारण
विद्यार्थीहरू अब डिजिटल संसारमा बाँचिरहेका छन्। तर धेरै शिक्षकहरू अझै पुरानै शैलीमा पढाउने गर्छन्।
शिक्षक–विद्यार्थी बीच संवादको पुल हराउँदै गएको छ। विद्यार्थी शिक्षकसँग डराउँछन्, शिक्षक विद्यार्थीलाई अहंकारी भन्छन्। नतिजा ? संवादहीनता, अविश्वास र आपसी दूरी।
सामाजिक सञ्जाल र आत्मकेन्द्रित सोच
आजको पुस्ता ‘म आफ्नो सफलता आफै बनाउँछु’ भन्ने सोचमा छ। गुरुको योगदानलाई नदेख्ने, केवल आफ्नो मेहनतलाई मापन गर्ने प्रवृत्तिले सम्बन्धमा आत्मीयता हराउँदै गएको छ।
संस्थागत पहलको अभाव
धेरै मेडिकल कलेजहरूमा ‘मेन्टोर–मेन्ती कार्यक्रम’ छैन। विद्यार्थी–शिक्षक बीचको आत्मीयता बढाउने औपचारिक वा अनौपचारिक माध्यमहरू अत्यन्त न्यून छन्।
कक्षा, वार्ड, परीक्षा मात्रै होइन, शिक्षक – विद्यार्थी बीच आपसी अनुभव साट्ने, मनोबल बढाउने, जीवन मूल्यमान्यता बाँड्ने स्थान आवश्यक छ।
गुरुको स्थान सधैं उच्च हुन्छ, किनभने…
युट्युबले तपाईंलाई ‘सेंट्रल लाइन कसरी राख्ने’ सिकाउन सक्छ। तर कसलाई राख्ने? कहिले राख्ने? जटिल केसमा निर्णय कसरी गर्ने? बिरामीसँग संवाद कसरी गर्ने? यदि गल्ती भयो भने कसरी सच्याउने? यी कुरा केवल अनुभवी शिक्षकबाट सिकिन्छ।
ज्ञान केवल टेक्निकल कुरा होइन । यो विवेक, अनुभव र सम्वेदनशीलताको संगम हो। र त्यो संगम शिक्षककै सान्निध्यबाट सम्भव हुन्छ।
समाधानहरू, सम्बन्ध सुधार्न सकिन्छ
शिक्षकले:
- विद्यार्थीलाई समय दिनु
- उनीहरूको जिज्ञासा सुन्नु
- आफ्नो ज्ञान अद्यावधिक गर्नु
- सहानुभूतिपूर्ण संवाद गर्नु
विद्यार्थीले
- शिक्षकलाई सम्मान गर्नु (नमस्ते भन्नु, ढोग गर्नु, जिज्ञासा देखाउनु)
- शिक्षकको अनुभवको कदर गर्नु
- प्रविधिलाई सहयोगी माध्यम मान्नु, विकल्प होइन
कलेज/संस्था:
- मेन्टोर–मेन्ती कार्यक्रम सञ्चालन गर्नु
- शिक्षक–विद्यार्थी अन्तरक्रिया कार्यक्रम राख्नु
- शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु
शिक्षक–विद्यार्थी सम्बन्धको कमजोरीले
- शिक्षा प्रणालीको आत्मा कमजोर बनाउँछ।यो केवल शिष्टाचारको विषय होइन, यो विद्यार्थीको भविष्य, चरित्र, र चिकित्सा सेवा प्रणालीकै गहिरो सवाल हो।
कसले सुधार सुरु गर्ने?
शिक्षकबाट।
- किनभने उनीहरू नै मार्गदर्शक हुन्, परिपक्वता र सहनशीलता उनीहरूबाट अपेक्षित हुन्छ।
- विद्यार्थीले साथ दिनुपर्छ। किन भने शिक्षा केवल किताब होइन, आदर, समर्पण र परम्परासँग पनि जोडिएको हुन्छ।मेडिकल शिक्षामा गुरु–शिष्य सम्बन्ध कमजोर भएको छ भन्ने स्वीकारोक्ति स्वयं सुधारको पहिलो पाइला हो।
तर स्थिति निराशाजनक छैन। साना सकारात्मक प्रयासले फेरि पनि सम्बन्धलाई पवित्र, गहिरो र प्रेरणादायी बनाउन सकिन्छ।यदि शिक्षक प्रेमपूर्वक अघि बढ्छन् र विद्यार्थी श्रद्धा साथ त्यो हात समाउँछन् भने, शिक्षा केवल डिग्रीको साधन होइन, जीवन परिवर्तन गर्ने यन्त्र बन्न सक्छ। (डा.उपाध्याय नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक हुन)
प्रतिक्रिया दिनुहोस