विश्व उच्च रक्तचाप दिवस

आयुर्वेदिक जीवनशैलीले उच्च रक्तचाप नियन्त्रण


आज १७ मई, अर्थात विश्व उच्च रक्तचाप दिवस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार विश्व भरी ३० देखी ७९ वर्ष उमेर समुहका करिव १ अर्ब २८ करोड व्यक्तिलाई उच्च रक्त चाप छ । र उनीहरू मध्ये दुई तिहाइ हाम्रो जस्तो निम्न र मध्यम आय भएका मुलुक मा बस्छन् ।

यति मात्र हैन उच्च रक्तचाप भएका अनुमानित ४६ प्रतिशत वयस्क लाई उनी यो रोगले ग्रस्त रहेको थाहा समेत छैन । अझ केलाउने हो भने उच्च रक्त चाप भएका आधा भन्दा कम (४२%) वयस्कको निदान र उपचार गरिन्छ । र उच्च रक्तचाप भएका करिव पाच जना मध्ये एक वयस्कमा (२१%) मा यो रोग नियन्त्रित हुन्छ ।

डब्लुएचओको यो तथ्याङ्कले नै उच्च रक्तचापको भयावह अवस्था र सर्व साधारण द्वारा गरिने उपेक्षा बारे झलक देखाउँछ । अव प्रश्न उठ्छ , त्यसो भए उच्च रक्तचापलाई कसरी जित्ने ? हामी तपाइ सबै लामो आयु कसरी बाच्ने ?

हो यसको उपाय तपाइ हाम्रो पूर्वजहरूले स्वस्थ भएर बाच्न अपनाउँदै आएका सकारात्मक जीवनशैली मै छ । अर्थात हाम्रै हिमालय भूमिमा फस्टाएको र हामीले शताब्दियौं देखी आफ्नो कार्य व्यवहार र जीवनशैलीमा उतार्दै आएको आयुर्वेदले समाधान दिन सक्छ।

उच्च रक्तचाप लाई आयुर्वेदमा स्पष्ट रूपमा ‘उच्च रक्तचाप’ भन्ने शब्द प्रयोग नगरिए पनि, यसलाई विभिन्न रोगहरूको संयोजनको रूपमा बुझिदिन्छ । जस्तै ‘रक्तगत वात, रत्तदुष्टि, पित्तदोष वृद्धि, मनोविकार (चिन्ता, तनाव) आदि। आयुर्वेद शास्त्रले उच्च रक्तचापलाई त्रिदोष असन्तुलन (विशेषगरी पित्त र वातदोष) को परिणामका रूपमा विश्लेषण गर्छ।

आजकल, तनावका कारण हुने उच्च रक्तचाप धेरै सामान्य भइसकेको छ । यस तर्फ आम जनमानस लाई ध्यान आकर्षित गर्न यो वर्षको विशेष सन्देश होः रक्तचाप सही तरिकाले नाप्नुहोस्, यसलाई नियन्त्रण गर्नुहोस् र लामो आयु बाच्नुहोस ।

गम्भीर प्रकारको उच्च रक्तचापका लक्षणहरूमा टाउको दुख्ने, दृष्टि समस्या, छाती भारी हुने दुख्ने, सुख्खा खोकी, थकान, रिंगटा लाग्ने, अनियमित मुटुको धड्कन आदि समावेश छन ।

आयुर्वेद शास्त्रमा हृदय रोग सम्बन्धी प्रसङ्गहरू धेरै ग्रन्थहरूमा उल्लेख गरिएका छन । आयुर्वेदमा यसको उपचार उपलब्ध छ । आयुर्वेदिक उपचारले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

यस अन्तर्गत जडीबुटीका विकल्पहरू समेत छन । जस अन्तर्गत अर्जुन, जटामांसी, ब्राहृमी, अश्वगंधा, तुलसी, त्रिफला, सर्पगंधा, जीरा, आवला लगायतका जडीबुटीहरूले तनाव कम गर्छन्, दिमागलाई शान्त पार्छन् र रक्त प्रवाहलाई सहज बनाउ छन्।

यस्तै गुग्गुल शुद्ध, अर्जुन, गोख्रु, अनार दाना र लसुन जस्ता तत्वहरू हुन्छन् जुन मुटुको स्वास्थ्य कायम राख्न र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छन्।

आयुर्वेद अनुसार मुटु रोगको कारणहरुमा त्रिदोष (वात, पित्त, कफ) को असन्तुलन, अनियमित खानपान, अत्यधिक तैलीय, मसालेदार, भारी खाना, मानसिक तनाव, क्रोध, चिन्ता, नियमित व्यायाम नहुनु, निन्द्राको कमी, जठराग्निको कमजोरी (पाचन शक्ति कमजोर हुनु) आदी छन ।

मुटु स्वास्थ्यका लागि जीवनशैली सुधार आयुर्वेद को प्रमुख सर्त हो । यस अन्तर्गत आहार सम्बन्धी सुझावहरू समेत उपयोगी छन । जस्तै ताजा, हल्का, सुपाच्य खाना (खिचडी, सुप, दलिया), काचो लसुन, हरियो धनिया, बेसार प्रयोग गर्नु, बढी नुन, चिनी, तेलयुक्त खाना कम गर्नु, फलफूल (अनार, जामुन, आप, केरा) प्रयोग गर्नु, तातो पानी पिउनु, चिसो पानीबाट टाढा रहनु आदि हो ।

यस्तै आयुर्वेदले रक्त चाप लाई सन्तुलनमा राख्न विहार अर्थात व्यवहार र रहन सहन लाइ समेत महत्वपुर्ण मान्छ । यस अन्तर्गत दैनिक प्राणायाम, ध्यान (१० देखी ३० मिनेट), नियमित योग अभ्यास (विशेष गरी भस्त्रिका, अनुलोम-विलोम, कपालभाति), बिहान चाडै उठ्ने (ब्रहृम मुहूर्तमा), मानसिक तनाव घटाउने उपाय अपनाउने (संगीत, ध्यान, अध्यात्म) र सन्तुलित निन्द्रा (६–८ घण्टा) सम्म लाइ महत्वपुर्ण मानेको छ ।

आयुर्वेदको उत्पत्ती स्थल नेपाल त आफै योग भुमी हो । रक्तचाप सन्तुलनमा राख्न, मुटु स्वस्थ राख्न योगासनहरू धेरै सहयोगी मानिन्छ । ताडासनले रक्तसञ्चारमा सुधार, पश्चिमोत्तानासनले मुटुको मांसपेशी बलियो बनाउने, भुजंगासनले छाती खोल्ने, मुटु मा रक्त प्रवाह बढाउने, शवासनले मानसिक शान्ति र विश्राम दिने गर्छ ।

अव अर्को कुरा । आयुर्वेदले स्पष्ट भनेको छ । जस्तो आहार त्यस्तो विचार व्यवहार र स्वास्थ्य । आहारले समेत हाम्रो शारिरीक, मानसिक र समष्टिगत स्वास्थ्य लाइ निर्धारण गर्छ । यसैले उच्च रक्तचाप भएका वा आफ्नो रक्तचापलाइ सधै सन्तुलनमा राख्न खोज्नेहरुले आहार सम्बन्धी विकल्पहरू अपनाउनै पर्छ ।

याद राख्नुस तपाईंको आहारले रक्तचापमा ठूलो प्रभाव पार्छ । त्यसैले आफ्नो आहारमा केरा, नरिवलको पानी, पालक जस्ता पोटासियम युक्त खानेकुराहरू समावेस गर्नुस । देसी घिउ र चिसो प्रेस गरेर निकालिएको बदामको तेल जस्ता स्वस्थ चिल्लो उपयोग गर्नुस । वजारमा छ्याप छ्याप्तीछ रहेको प्रशोधित खाना, नुन, क्याफिन, कार्वोनेटेड चिसो पेय पदार्थ को सेवन बन्द गर्नुस वा कम गर्नुस ।

गाईको घिउ अमृत नै हो । यसले रक्तचाप नियन्त्रण मात्र गर्दैन, तर सम्पूर्ण शरीरको लागि पनि फायदा जनक छ । यसैले सन्तुलनमा रहदै आयुर्वेद विज्ञको सल्लाह अनुसार घिउ, खानपान आदि निर्धारित गर्नुस ।

उच्च रक्तचाप धेरै खतरनाक रोग भए पनि यसलाई केही सरल आयुर्वेदिक विधिहरू अपनाएर सजिलै नियन्त्रण गर्न सकिन्छ । तर यदि यो जीवनशैली परिवर्तन, खानपान, व्यायाम आदि सकारात्मक परिवर्तनले समेत कम नभए तृुरन्त आधुनिक वा आयुर्वेदिक चिकित्सकको सल्लाहमा औषधि शुरु गर्न ढिलो गर्नु हुदैन । (डा. साह, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस कीर्तिपुरका उपप्राध्यापक एवं विभागाध्यक्ष हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!