अनुसन्धान
हर्पीस जोस्टर विरुद्धको खोपले मुटु रोगको जोखिम २३% ले घटाउन सक्छ

काठमाडौँ -हर्पीस जोस्टर विरुद्धको खोप लगाउँदा स्ट्रोक वा हृदयघात जस्ता मुटु सम्बन्धी घटनाहरूको सम्भावना झण्डै २३ प्रतिशतले घट्न सक्छ भन्ने तथ्य एक नयाँ अध्ययन मार्फत पुष्टि भएको छ।
हर्पीस जोस्टर विरुद्धको खोपको सुरक्षात्मक प्रभाव आठ वर्षसम्म कायम रहन सक्छ, र यो प्रभाव पुरुषहरू तथा ६० वर्षभन्दा कम उमेरका व्यक्तिहरू मा अझ बलियो देखिएको छ।
हर्पीस जोस्टर एक प्रकारको भाइरल संक्रमण हो जसले पीडादायी र रातो बिमिरा (दाना) वा चकत्ता ल्याउँछ। दक्षिण कोरियाको क्युङ ही विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेजका अनुसन्धानकर्ताहरू ले १२ लाख ७१ हजार ९ सय २२ जना ५० वर्ष वा सो भन्दा माथिका व्यक्तिहरू माथि गरेको अध्ययनमा यस्ता निष्कर्षहरू निकालिएका हुन्।
उनीहरूले सन् २०१२ देखि खोप लगाएका र नलगाएकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको जीवनशैली तथा हृदय स्वास्थ्यसँग तुलना गरेका थिए।
युरोपियन हर्ट जर्नल मा प्रकाशित उक्त अध्ययन हाल सम्मको सबै भन्दा ठूलो र व्यापक जनसंख्यामा आधारित अध्ययन हो, जसले खोप र १८ प्रकारका हृदय रोग बीचको सम्बन्धको विश्लेषण गरेको छ।
मुख्य अनुसन्धानकर्ता डोङ किन योनका अनुसार, हर्पेस जोस्टरको संक्रमणले रगत नलीमा क्षति, सुन्न्याइ तथा रगतका थक्का बन्ने समस्या उत्पन्न गर्न सक्छ, जसले मुटु रोगको जोखिम बढाउँछ। खोपले यस्ता जोखिमहरू न्यूनीकरण गर्न सहयोग पुर्याउने बताइएको छ।
यही विषयमा हालै नेचर जर्नलमा प्रकाशित अर्को अध्ययनले पनि समर्थन गरेको छ, जसमा बेलायतको वेल्स क्षेत्रका ७१–८८ वर्ष उमेरका २,८०,००० वृद्धहरूलाई समावेश गरिएको थियो। सन् २०१३ मा सुरु गरिएको खोप कार्यक्रमअन्तर्गत सहभागी वृद्धहरूमा डिमेन्सिया नभएको र खोपपछि आगामी सात वर्ष भित्र डिमेन्सियाको जोखिम २० प्रतिशतले घटेको उल्लेख गरिएको छ, विशेष गरी महिलाहरूमा प्रभाव अझ बढी देखिएको हो।
ल्यान्सेट जर्नलमा सन् २०२४ को अगस्तमा प्रकाशित रिपोर्टमा पनि न्युरोडीजेनेरेटिभ रोगको जोखिम उच्च रक्तचाप तथा कोलेस्टेरोल जस्ता १४ कारणहरू सँग जोडिएको बताइएको छ।
योनका अनुसार, हर्पीस जोस्टरले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ, विशेष गरी वृद्धहरू वा कमजोर प्रतिरक्षा प्रणाली भएकाहरूमा। अघिल्ला अनुसन्धानहरूअनुसार खोप नलगाएका करिब ३० प्रतिशत व्यक्तिहरू जीवनमा एक पटक हर्पेस जोस्टरको सिकार हुने सम्भावना रहन्छ।
अध्ययनमा उल्लेख गरिए अनुसार, खोप लगाउनेहरूमा समग्रमा हृदय सम्बन्धी घटनाहरूको जोखिम २३ प्रतिशतले घटेको, स्ट्रोक वा हृदयघात जस्ता गम्भीर घटनाहरूको जोखिम २६ प्रतिशतले घटेको, मुटु फेल हुने सम्भावना ६ प्रतिशतले घटेको तथा कोरोनरी मुटु रोगको सम्भावना २२ प्रतिशतले घटेको पाइयो।
उक्त अध्ययनमा जीवित भाइरस (लाइभ जोस्टर खोप) प्रयोग गरिएको थियो, जुन भाइरस कमजोर बनाइएको हुन्छ। अध्ययनमा यो पनि पत्ता लागेको छ कि खोप पछिको सबैभन्दा प्रभावकारी अवधि दुई देखि तीन वर्षभित्र देखिएको हो, यद्यपि यसको प्रभाव आठ वर्ष सम्म रहन सक्छ।
प्रतिक्रिया दिनुहोस