सांसद डा. तोशीमा कार्कीले भनिन, वरिष्ठता मिच्दै सरकारको निर्णय: डा. संगीता मिश्रलाई स्वास्थ्य सचिव किन बनाइएन?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशीमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा सरकारले वरिष्ठता मिचेको भन्दै संसदमा कडा प्रश्न उठाएकी छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वरिष्ठताको पहिलो स्थानमा रहेकी डा. संगीता मिश्रलाई हटाएर अन्य व्यक्तिलाई स्वास्थ्य सचिव बनाइनु अन्यायपूर्ण निर्णय भएको बताइन्।
सांसद कार्कीले सरकारको निर्णयमाथि शंका व्यक्त गर्दै प्रश्न गरिन्, ‘क्याबिनेटले यस्तो निर्णय किन गर्यो? के पुरुष मन्त्रीहरूले महिला सचिवसँग काम गर्न नसक्ने हो? कि सरकार महिला नेतृत्व स्वीकार्नै चाहँदैन?’ उनले सरकारको निर्णय लैङ्गिक समानताको सिद्धान्त विपरीत रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री प्रदिप पौडेल र सामान्य प्रशासन मन्त्रीसँग संसद मार्फत स्पष्ट जवाफ मागिन्।
नेपालको प्रशासनिक संरचनामा वरिष्ठताको आधारमा पदोन्नति हुने प्रचलन छ। तर, स्वास्थ्य सचिव नियुक्तिको सिफारिस सूचीमा पहिलो नम्बरमा रहेकी डा. संगीता मिश्रलाई हटाएर अन्यलाई सचिव बनाइनु सरकारी हस्तक्षेप र लैङ्गिक पूर्वाग्रहकै संकेत भएको कार्कीको तर्क छ।
उनले ‘राजनीतिक हस्तक्षेप र लैङ्गिक विभेदका कारण महिलाहरू आफ्नो योग्यताको आधारमा उच्च पदमा पुग्नबाट वञ्चित भइरहेका छन्’ भन्दै सरकारको नीति सुधार गर्नुपर्ने माग गरिन्।
स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील क्षेत्रमा लामो समयदेखि कार्यरत, दक्षता र अनुभवमा अब्बल महिला अधिकारीलाई सरकारले बेवास्ता गर्नु गलत उदाहरण भएको कार्कीको भनाइ छ।
‘संविधानमा समानताको व्यवस्था छ, तर व्यवहारमा महिलाहरूलाई सधैं पछाडि पार्ने नीति दोहोरिइरहेको छ,’ उनले भनिन्।
यो प्रकरणले नेपालमा उच्च प्रशासनिक तहमा महिला नेतृत्वलाई अझै पनि सहज रूपमा स्वीकार गरिँदैन भन्ने स्पष्ट पारेको छ । सांसद कार्कीले यो मुद्दालाई महिला समानताको दृष्टिकोणबाट गम्भीरतापूर्वक लिँदै संसदले सरकारलाई जवाफदेही बनाउनुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस