नेपाल औषधि उत्पादक संघको नेतृत्वमा प्रतिस्पर्धा चुलिँदै, सहमति या निर्वाचन ?

काठमाडौं – नेपाल औषधि उत्पादक संघ (एपोन) को आउँदै गरेको साधारण सभाले यस पटक नयाँ कार्यसमिति चयन गर्दैछ। एपोनको महाधिवेशन साउन साउन १९ गते काठमाडौँमा हुने भएको छ ।
संशोधित विधान अनुसार दुई सदस्य थप गरी १३ सदस्यीय कार्यसमिति चयन हुनेछ। नवगठित संरचनामा एक सचिव पदसहित एक अतिरिक्त सदस्य थपिएको हो।
हाल सम्म सतहमा देखिएको चुनावी हलचल अनुसार अध्यक्ष पदका लागि भने यो पटक त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ। वरिष्ठ उपाध्यक्ष प्रभात रुङगटा, उपाध्यक्ष सन्तोष बराल र पूर्व महासचिव बिप्लब अधिकारीले आआफ्नो उम्मेदवारी को दाबी गरिसकेका छन्। ती तीनै जना आफू बलियो भएको दाबी गर्दै सम्भावित चुनावको लागि आन्तरिक दौडधुपमा सक्रिय देखिएका छन ।
वरिष्ठ उपाध्यक्ष प्रभात रुङगटा विगत पाँच कार्यकाल देखि संघमा विभिन्न भूमिकामा योगदान दिँदै आएका छन्। एक कार्यकाल सदस्य, तीन कार्यकाल कोषाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका उनी आफूलाई अध्यक्ष पदका लागि एक मात्र उपयुक्त उम्मेदवार भन्दै आएका छन्।
उता, उपाध्यक्ष सन्तोष बरालले पनि आफूले संघको संगठनात्मक विकास र अन्य संघ संस्थासँग समन्वयमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्षका लागि आफू सक्षम उम्मेदवार भएको तर्क राखेका छन्। उनले एक कार्यकाल सदस्य र तीन कार्यकाल उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।
पूर्व महासचिव बिप्लब अधिकारीले भने अघिल्लो कार्यकालमा समेत अध्यक्ष पदका लागि उठेका थिए । उनी भन्छन्, ‘मैले कार्यकाल हुँदा र नभए पनि संघका कार्यक्रम, नीति तथा विधान निर्माणमा सक्रिय भूमिका खेलेको छु। यस पटक मेरो उम्मेदवारीलाई प्रभातजी र सन्तोषजीले पनि समर्थन गर्नु हुनेछ भन्ने मलाई विश्वास छ।’
यद्यपि, दुई महिना अघि चितवनमा सम्पन्न विशेष सभाको बेला अध्यक्ष पदमा सहमतिको प्रयास स्वरूप भएको भनिएको गोप्य छलफल निष्कर्षमा पुग्न सकेको थिएन। त्यस यता तीनै उम्मेदवार बीच एक पटक पुनः छलफल भएको भए पनि सहमति हुन नसकेको उद्योगीहरू बताउँछन्।
हालका अध्यक्ष महेश प्रसाद प्रधान र निवर्तमान अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले भने नेतृत्व परिवर्तन सहमतिमै होस् भन्ने चाहना व्यक्त गरेका छन्। ‘दुई जना योग्य व्यक्ति गुमाउने जोखिम हामी लिन सक्दैनौं,’ उनीहरू भन्छन्, ‘सहमतिको लागि जुन सुकै सहयोग गर्न हामी तयार छौं।’
संघका पूर्व अध्यक्ष शंकर घिमिरेका अनुसार तीनै जना उम्मेदवार संघका ‘हिरा’ हुन्। उनी भन्छन्, ‘हामी पूर्व अध्यक्षहरूले सहमतिबाट अगाडि बढ्ने प्रयास जारी राख्नेछौं।’ अर्का पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले भने चुनाव लोकतान्त्रिक प्रक्रिया भए पनि उद्योगको नेतृत्वको लागि सहमति उपयुक्त विकल्प भएको धारणा राखे। ‘ती तीनै जना मेरा प्रिय भाइहरू हुन्, कसलाई उठ र कसलाई बस भनौं?’ उनको भनाइ थियो।
उद्योग परिसंघका पूर्व अध्यक्ष तथा संघका पूर्व महासचिव हरिभक्त शर्मा पनि सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन्। ‘ती तीनै जना योग्य छन्, त्यसैले चुनाव भन्दा सहमति नै संघको हितमा हुनेछ,’ उनी भन्छन्।
हालको परिस्थितिमा नेतृत्व कसले सम्हाल्ने भन्ने चासो उच्च छ। तर, चुनाव भएमा संघलाई लामो समय सम्म नेतृत्व खिचातानी र विभाजनको मारमा पर्न सक्ने भन्दै चिन्ता पनि औषधि उद्योगीहरूबीच बढेको छ। निर्णायक मोडमा पुगेको संघको नेतृत्व प्रतिस्पर्धा सहमति कि चुनाव? अबको केही दिनभित्र यो प्रश्नको जवाफ आउनेछ।
प्रतिक्रिया दिनुहोस