अनुसन्धान
मुटु रोग पत्ता लगाउन एआइ टूल मुटु रोग विशेषज्ञ भन्दा बढी सक्षम

अमेरिकी अनुसन्धानकर्ताहरूले एक यस्तो नयाँ कृत्रिम बुद्धिमत्ता (एआइ) टूल विकास गरेका छन्, जसले ईसीजी डाटाको प्रयोग मार्फत मुटु सम्बन्धी रोगको पहिचानमा कार्डियोलोजिस्ट (हृदय रोग विशेषज्ञ) भन्दा पनि बढी सटीक नतिजा दिन सक्छ।
अनुसन्धानमा उल्लेख गरिए अनुसार, संरचनात्मक हृदय रोग, जसमा भल्भ सम्बन्धी समस्या, जन्मजात मुटु सम्बन्धी गडबडीहरू र अन्य रोगहरू पर्छन्, विश्व भर करोडौँ मानिसलाई प्रभावित गर्छन्। यी रोगहरू सस्तो र नियमित स्क्रीनिङ परीक्षणको अभावका कारण धेरै जसो अवस्थामा पत्ता नलागी बेवास्ता हुने गर्छन्।
यस समस्याको समाधानका लागि कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले इकोकनेक्ट नामक एआइ-आधारित स्क्रीनिङ टूल विकास गरेका छन्।
यो उपकरणले सामान्य ईसीजी (इलेक्ट्रो कार्डियोग्राम) डाटाको विश्लेषण गरेर संरचनात्मक हृदय रोग पत्ता लगाउन सक्छ र ती बिरामीहरू छुट्याउन सक्छ जसलाई कार्डियक अल्ट्रासाउन्ड (इकोकार्डियोग्राफी) आवश्यक छ।
नेचर जर्नलमा प्रकाशित सो अध्ययनमा इकोकनेक्टले कार्डियोलोजिस्टको तुलनामा अझ बढी सटीकता देखाएको उल्लेख छ। कोलम्बिया विश्वविद्यालय अन्तर्गत वैगेलोस कलेज अफ फिजिसियन एन्ड सर्जन्समा चिकित्सा तथा बायोमेडिकल इन्फर्मेटिक्सका सहायक प्राध्यापक पियरे एलियासले भने, ‘हामी सँग पेटको जाँच गर्न कोलोनोस्कोपी छ, स्तन क्यान्सरको जाँच गर्न म्यामोग्राम छ, तर अधिकांश हृदय रोगका लागि यस्तो प्रभावकारी प्रारम्भिक परीक्षण उपकरण छैन।’
उनका अनुसार, इकोकनेक्टलाई विशेष गरी सामान्य ईसीजी डाटाबाट मूल्याङ्कन गरेर कहिले अल्ट्रासाउन्ड आवश्यक पर्छ भनेर छुट्याउन डिजाइन गरिएको हो।
‘हामी विश्वास गर्छौं कि ईसीजी र एआइको संयोजनले नयाँ खालको प्रारम्भिक हृदय परीक्षण प्रणालीको ढोका खोल्न सक्छ,’ एलियासले भने।
प्रतिक्रिया दिनुहोस