धानको मूल्य र डा. गोविन्द केसी


सर्लाहीको हजारिया गाउँकी एक निम्न आय भएका कृषक महिला, जसको सात–आठ वर्षको छोरोको हात भाँचिएको थियो। शल्यक्रिया गर्नु जरुरी थियो। ती महिला काठमाडौं सम्म आइ पुगिन्, केही आशा बोकेर। मेरा साथीका दाइ, तत्कालीन गाविस अध्यक्ष स्व. शुसिल विष्टको सिफारिसमा मैले उनलाई त्रिवि शिक्षण अस्पतालमा प्रा. डा. गोविन्द केसीको मातहत निःशुल्क वेडमा भर्ना गरि दिएँ।

शल्यक्रियाको मिति तय भइ सकेको थियो, तर समस्या थियो, आवश्यक उपकरण र सामाग्री खरिद गर्न पर्ने १०–१२ हजार रुपैयाँ ती महिलाको पहुँच बाहिरको थियो। शल्यक्रिया स्थगित हुने निश्चित जस्तै देखिन्थ्यो ।

त्यसै बेला डा. केसीको फोन आयो –’कुमार जी, सामान रहेनछ। अपरेशन रोक्नु पर्ने हुन्छ।’ म अक्क न बक्क परेँ। ‘सर, मलाई त थाहा थिएन। म बुझ्छु।’ भने पछि म हतारिँदै ती महिलालाई भेट्न गएँ।

‘मसँग १५ सय रुपैयाँ छ,’ भन्दै उनले मेरो हातमा त्यो नोट राखिन्, ‘बाँकी म मंसिरमा धान बेचेर तिर्छु।’ ती महिला बोली रहँदा उनका आँखा झन् नम भइ रहेका थिए । तर बालकलाई त अपरेशनको तयारीको लागि पहिले नै शल्यक्रिया कक्ष तिर लगि सकेका थिए।

म सिधै शल्यक्रिया कक्ष नजिक पुगेँ, ढोका खोलेँ – डा. केसी भित्रै थिए। ‘सर, केश पछाडि सार्नुस्। म केही गर्छु।’ तर डा. केसीले मलाई हेरेर भने, ‘कुमारजी, अब सामानको जोहो भइ सक्यो। अपरेशन हुन्छ र त्यो पैसा आमालाई फर्काउनुस् – उहाँलाई घर फर्कन खर्च लाग्छ।’

बाहिर निस्किँदा, शल्यक्रिया कक्ष गेट मै सप्लायर्स भेटिए। सामान ल्याएर फर्किंदै थिए। मैले जिज्ञासा राखें –’कसरी मिल्यो सामान?’ त्यसको जवाफ सुनेर म छक्क परेँ।

‘विहान शल्यक्रिया क्यान्सिल गर्नु पर्ने रिपोर्ट डाक्टर केसीलाई पुगे पछि, उहाँले तुरुन्त सामान पठाउन व्यापारीलाई आदेश दिनुभयो। हिमालयन बैंकको चेक आफैं काटेर भुक्तानी गर्नु भयो।’

म स्तब्ध भएँ। उता, अपरेशन सफल भयो। बालक केही दिन पछि डिस्चार्ज भए। पछि, फलो अपमा आउँदा आमा खुसी हुँदै भेट्न आउँथिन्। हरेक पटक आँखा रसाएका हुन्थे – आभारले भरिएको।

तर खास क्षण त्यस पछि आयो। पुस महिनामा उनी फेरि आइन्, झोलाबाट पैसा झिकिन्, ‘यो तपाईं सँगको खर्च, अनि डाक्टर साबको पनि – म मंसिरमा धान बेचेर ल्याएकी।’ मैले नम्र भएर भनेँ, ‘मलाई चाहिँदैन, डाक्टर साबलाई तिमी आफै दिनु।’ उनी भित्र गइन्, र फर्केर आउँदा आश्चर्यचकित थिइन्।

‘डाक्टर साबले त झन् ५ हजार उल्टो झिकेर दिनु भयो – भन्नु भयो, ‘म हाल दिएको पैसा र तिमीले ल्याएको पैसाले बच्चालाई राम्रो सँग पढाउनू।’

त्यो सुनेर म चुपचाप भएँ। केही भन्नै सकिनँ। तर एउटा कुरा अझै मेरो मनमा गाँठो झैँ बाँधिएको थियो – समानको जोहो भइ सके पछि पनि किन मलाई फोन गरेर ‘समान छैन’ भन्नु भयो त?

एक दिन मौका पारेर सोधेँ –’सर, सामान त भइ सकेको थियो, तपाईंले मलाई किन बोलाउनु भएको?’ डा. के.सी. मुस्कुराउँदै भन्नु भयो– ‘तपाईंले सिफारिस गर्नु भएको विरामीको जिम्मेवारी तपाईंले कत्तिको वहन गर्नु हुन्छ भनेर बुझ्न खोजेको मात्र।’

त्यो दिन डा. केसीप्रति झनै नत .मस्तक भएँ। तर त्यो दिन मैले अझ गहिरो नत मस्तकता महसुस गरेँ – त्यो थिइन्, ती सर्लाहीकी कृषक आमा – जसको आँखाबाट झरेका आँशुमा ‘इमानदारी’ को मूल्य थियो र हरेक थोपा, धानको मोलले तौलिएको थियो। (कुमार केसी त्रिवि शिक्षण अस्पताल का सिनियर मेडिकल रेकर्ड अफिसर (उप प्रशासक) को रूपमा काम गरेर त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरवाट प्रशासन प्रमुखको रूपमा अवकाश प्राप्त गरेका हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!