एचआईभी रोकथामका लागि डब्लुएचओ द्वारा ‘लेनाकापाविर’ इन्जेक्सन सिफारिस, हरेक ६ महिनामा एक डोज पर्याप्त

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एचआईभी रोकथामका लागि नयाँ सिफारिस जारी गर्दै ‘लेनाकापाविर’ (lenacapavir – LEN) नामक इन्जेक्सनलाई वर्षमा दुई पटक लगाउने वैकल्पिक उपायको रूपमा सिफारिस गरेको छ।
अफ्रिकाको रवाण्डा, किगालीमा जारी १३औं अन्तर्राष्ट्रिय एड्स सम्मेलन (आइएएस२०२५) मा डब्लुएचओले उक्त नीति सार्वजनिक गरेको हो।
लेनाकापाविर हाल सम्मको पहिलो छ महिने दीर्घकालीन इन्जेक्सन युक्त प्रि-एक्सपोजर प्रोफिल्याक्सिस (पिआरईपी) हो । जसले दैनिक चक्की वा छोटो अवधिका अन्य विकल्पहरूको विकल्प दिन्छ।
वर्षमा केवल दुई पटक प्रयोग गर्नु पर्ने भएकाले यो विशेष गरी दैनिक औषधि सेवन गर्न गाह्रो हुने, कलङ्कको डर रहने वा स्वास्थ्य सेवामा पहुँच नहुने समूहहरूका लागि निकै उपयोगी मानिएको छ।
एचआईभी विरुद्धको प्रभावकारी कदम
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने, ‘एचआईभीको खोप अझै उपलब्ध नभएको अवस्थामा लेनाकापाविर जस्तो दीर्घकालीन प्रभावी औषधि लगभग सबै संक्रमणहरू रोक्न सक्षम देखिएको छ। डब्लुएचओको नयाँ मार्ग निर्देशन र एफडीएको हालैको अनुमतिले यो औषधि व्यापक बनाउन महत्त्वपूर्ण कदम चालेको छ।’
एचआईभी परीक्षण प्रक्रिया सजिलो, सामुदायिक वितरण सम्भव
डब्लुएचओले लामो समय सम्म प्रभावी रहने लेनाकापाविर र कैबोटेग्राविर (सिएवी – एलए) जस्ता औषधिहरूको पहुँच बढाउनको लागि एचआईभी परीक्षण प्रक्रियालाई पनि सरलीकरण गरेको छ। अब जटिल तथा महँगा परीक्षणको सट्टा सामुदायिक स्तर मै रैपिड परीक्षण मार्फत सेवा उपलब्ध गराउन सकिनेछ।
सरकारलाई कार्यान्वयनका लागि आह्वान
हाल क्लिनिकल परीक्षण बाहेक अन्यत्र लेनाकापाविरको पहुँच सीमित भए पनि डब्लुएचओले सरकार, दातृ निकाय र अन्य साझेदारहरूलाई आफ्नो राष्ट्रिय एचआईभी रोकथाम कार्यक्रम मार्फत यो औषधि तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
थप सिफारिसहरू: उपचार, सेवा एकीकरण र नयाँ परीक्षण रणनीति
डब्लुएचओले पहिलो पटक एचआईभी उपचारमा दीर्घकालीन इन्जेक्सन युक्त कैबोटेग्राविर र रिल्पिभिरिन (सिएवी/ आरपीभी) को प्रयोगलाई पनि वैकल्पिक स्विचिङ विकल्पको रूपमा सिफारिस गरेको छ। यो विशेष गरी ओरल औषधिहरूमा निरन्तरता दिन नसक्नेहरूका लागि उपयोगी मानिएको छ।
यस सँगै उच्च रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य तथा मद्यपान सम्बन्धी समस्याहरू सँग एचआईभी सेवाको एकीकरणका लागि पनि मार्ग निर्देशन गरिएको छ। लक्षण नभएका यौन रोगहरूको व्यवस्थापनमा गोनोरिया र क्लामाइडियाको नियमित परीक्षण गर्ने सिफारिस पनि गरिएको छ।
एमपक्स भएका एचआईभी संक्रमितहरूका लागि विशेष सिफारिस
यदि कोही एचआईभी संक्रमित एमपक्सको लक्षण सहित देखा परे वा लामो समय देखि उपचारमा नरहेका छन् भने तुरुन्त एआरभी थाल्न सिफारिस गरिएको छ। साथै, एमपक्सको आशंका वा पुष्टि भएका सबैमा एचआईभी र सिफिलिस परीक्षण अनिवार्य गर्न भनिएको छ।
दिगो स्वास्थ्य सेवाका लागि रणनीति
एचआईभी सेवाहरूलाई दिगो बनाउन डब्लुएचओले नयाँ कार्यान्वयन रणनीति पनि ल्याएको छ, जसले सेवाहरूलाई प्राथमिकता दिन, जोखिम मूल्याङ्कन गर्न र अवरोधहरूको सामना गर्न सहयोग पुर्याउनेछ।
एक निर्णायक समय
२०२४ को अन्त्य सम्म विश्व भर ४ करोड ८ लाख मानिस एचआईभी संक्रमित थिए भने ती मध्ये ६५% अफ्रिकामा थिए। ६ लाख ३० हजार मानिसको मृत्यु एचआईभी सम्बन्धी कारणले भएको र १३ लाख नयाँ संक्रमण देखिएको डब्लुएचओको तथ्यांकमा उल्लेख छ।
डब्लुएचओका एचआईभी कार्यक्रम निर्देशक डा. मेग डोहर्टीका अनुसार, ‘हामीसँग महामारी अन्त्य गर्ने ज्ञान र उपकरणहरू छन्। अब चाहिएको कुरा तिनीहरूको दृढ कार्यान्वयन हो, न्यायमा आधारित र समुदायद्वारा सञ्चालित।’
प्रतिक्रिया दिनुहोस