वर्षेनी २०० अर्ब किलो धुलो वायुमण्डल मा प्रवेश : हावाको गुणस्तर, जनस्वास्थ्य, जलवायुमा नकारात्मक असर

काठमाडौँ – हरेक वर्ष करिब २० करोड टन अर्थात् २०० अर्ब किलोग्राम धूलो वायुमण्डलमा प्रवेश गर्छ । जसले हजारौँ किलोमिटर टाढा सम्मको हावाको गुण स्तर, जनस्वास्थ्य, जलवायु, मौसम प्रणाली, वातावरणीय प्रणाली र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ ।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले बालुवा र धुलो को आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस (इन्टरनेशनल डे अफ कमब्याटिङ स्यान्ड एन्ड डस्ट स्ट्रोम्स) को अवसरमा शनिबार सार्वजनिक गरेको ‘एयरबोर्न डस्ट बुलेटिन’ मा उक्त कुरा उल्लेख छ।
एयरबोर्न डस्ट बुलेटिन अनुसार, सन २०२३ को मार्च महिनामा मंगोलियाबाट सुरु भएको भीषण धूलो आँधीले ४० लाख वर्ग किलोमिटर क्षेत्र प्रभावित बनायो, जसमा चीनका २० वटा प्रान्त समेत पर्दछन्।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भनिन्, ‘उच्च तापक्रम, खडेरी, वाष्पीकरण र कम माटो आर्द्रताले, कमजोर भूमि व्यवस्थापन सँगै, धूलो र बालुवाका आँधीहरूलाई अझ तीव्र बनाइरहेका छन्।’
डब्लुएमओले सबैलाई आग्रह गरेको छ कि वातावरणीय क्षरण र जलवायु परिवर्तनको असरलाई बुझ्दै, सटीक पूर्वानुमान, समन्वित चेतावनी प्रणाली र क्षेत्रीय सहयोगद्वारा दीर्घकालीन समाधानतर्फ अग्रसर हुन आवश्यक छ। धूलो आँधीको दीर्घकालीन असर रोक्न भूमि र जल व्यवस्थापन सुधारको खाँचो तत्काल देखिएको छ।
प्रभाव र चेतावनी प्रणाली
हालका वर्षहरूमा धूलो आँधीको निगरानी तथा पूर्वानुमान प्रणालीमा उल्लेखनीय सुधार भएको छ। सन् २००७ मा स्थापना गरिएको स्यान्ड एन्ड डस्ट स्ट्रोम वारनिङग एण्ड एसिसमेंट सिस्टम (एसडीएस डब्लुएएस) मार्फत विभिन्न क्षेत्रीय केन्द्रहरू द्वारा अनुसन्धान र प्रत्यक्ष प्रणालीको संयोजन हुँदै आएको छ । यस प्रणालीले २५ भन्दा बढी संस्थाहरू बाट दैनिक पूर्वानुमान संकलन गर्छ।
हाल सम्म एसडीएस डब्लुएएसका तीन क्षेत्रीय नोडहरू छन् । यस अन्तर्गत उत्तरी अफ्रिका, मध्य पूर्व युरोप (केन्द्र: बार्सिलोना), एशिया (केन्द्र: बेइजिङ) र प्यान-अमेरिका (केन्द्र: ब्रिजटाउन, बारबाडोस) रहेको छ ।
सन् २०२३ मा यसमा गल्फ को अपरेसन काउन्सिल (जीसीसी) नोड समेत थपिएको छ, जसको केन्द्र साउदी अरेबियाको जेद्दामा रहेको छ।
२०२३ का मुख्य आँधी र प्रभावित क्षेत्रहरू
पूर्वी एशिया: मार्च देखि मे सम्म १३ पटक धूलो आँधी। मार्च १९–२४ को आँधीले मंगोलिया, चीन, कोरियाली गणतन्त्र र जापान सम्म असर पारेको थियो। बीजिङमा केही स्थानमा पीएम १० को मात्रा ९,००० माइक्रो ग्राम प्रतिघनमिटर नाघ्यो।
साहेल र गिनी उपसागर: २०२३ को शरद देखि हिउँद सम्म हार्माट्टन (सहाराबाट आएको सुख्खा र धुलो हावा) ले तीव्र धूलो बहाव ल्यायो।
पूर्वी क्यारिबियन र उत्तरी दक्षिण अमेरिका: २०२३ डिसेम्बरदेखि २०२४ अप्रिल सम्म सहाराबाट आएको धूलोले यी क्षेत्रहरू प्रभावित भए।
केन्द्रीय एशिया, उत्तर चीन र दक्षिणी मंगोलिया: यहाँ २०२३ मा सतहको धूलोको औसत स्तर २०२२ भन्दा उच्च रह्यो।
धूलोको सकारात्मक पक्ष
डब्लुएमओ बुलेटिनमा उल्लेख गरिए अनुसार, सहाराबाट अटलान्टिक महासागर तर्फ सरेको धूलोले समुद्री जीवनलाई लाभ पुर्याएको छ। यसले फाइटोप्लाङ्कटन को वृद्धि बढाउने तत्वहरू (फलाम, फस्फोरस) प्रदान गर्छ, जसले साना माछा देखि ठूला समुद्री जीवसम्मको आहार श्रृंखलामा योगदान पुर्याउँछ। यसकै कारण, पश्चिमी अफ्रिकाको समुद्र तटमा स्किपज्याक टुना माछाको उत्पादन १९५० को १,००० टन बाट बढेर अहिले २,५०,००० टन सम्म पुगेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस