स्तन क्यान्सर भएका महिलामा जीनको दोषले दीर्घकालीन जीवनमा असर गर्ने नयाँ अध्ययन सार्वजनिक

शिकागो — स्तन क्यान्सर भएका महिलाहरूको दीर्घकालीन स्वास्थ्य परिणाममा जीनको दोष (जेनेटिक म्यूटेसन) कस्तो असर पार्छ भन्ने विषयमा गरिएको एक नयाँ अध्ययन सार्वजनिक गरिएको छ।
यो अध्ययन अमेरिकाको मेयो क्लिनिकका क्यान्सर विशेषज्ञ डा. सिद्धार्थ यादवले अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एएससिओ) को वार्षिक सम्मेलनमा सोमबार प्रस्तुत गरे। उनले करिब २५ हजार स्तन क्यान्सर भएका महिलाको जानकारीलाई आधार बनाएर अध्ययन गरेका थिए।
अध्ययनमा पाँच प्रकारका जीन —बिआरसीए १, बिआरसीए २, पिएएलबी २, एटिएम र सिएचइके २ मा भएको रोगजनक परिवर्तन (म्युटेसन) को प्रभाव हेर्ने प्रयास गरिएको थियो। यी परिवर्तनहरू सँग महिलाहरूको दीर्घकालीन बाँच्ने सम्भावना (सरभाइभल रेट) को तुलना गरिएको हो।
मुख्य निष्कर्ष अनुसार, यदि महिलाहरूमा बिआरसीए १, बिआरसीए २ वा सम्भवतः पिएएलबी २ जीनमा खराबी छ भने र उनीहरूलाई इस्ट्रोजेन रिसेप्टर-पोजिटिभ ( इआर+) स्तन क्यान्सर छ भने, उनीहरूको बाँच्ने दर अन्य महिलाहरूको तुलनामा कम हुने देखिएको छ।
तर, एटिएम र सिएचइके २ जीनमा खराबी भएका महिलाहरूको बाँच्ने दर भने सामान्य अवस्थामा रहेका महिलाहरू सरह देखिएको छ।
यो अध्ययनले स्तन क्यान्सरको उपचार र दीर्घकालीन योजना बनाउने क्रममा जेनेटिक परीक्षणको महत्वलाई झनै स्पष्ट बनाएको डा. यादवले नेपालहेल्थप्रेसलाई बताए।
प्रतिक्रिया दिनुहोस